• १४ असोज २०८३, बुधबार
  • ५ः४० बिहान

बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार ०९:४३

५  साउन २०८३ काठमाडौं- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा सोमबार बिहानसम्म ९ स्थानमा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहान ६:५५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द र केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको जनाएको छ।

National Life

कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडकखण्ड) भने अविरल वर्षापछि पूर्ण रूपमा अवरुद्ध भएको छ। खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने सडक) तथा कोदारीस्थित अरनिको राजमार्गमा पहिरोका कारण दुई स्थानमा पूर्ण अवरोध भएको छ। मकवानपुरको कान्तिलोकपथ (हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड)मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ।

त्यसैगरी, रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४ बोगटेखोला क्षेत्रमा पहिरो खस्दा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न र वर्षायाममा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया