नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा सीमित भयो: नेत्रविक्रम चन्द
प्रकाशित मिति
२०७९ माघ २५ गते, बुधबार ०३:०३

२५ माघ, २०७९, काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नेपालको अर्थतन्त्र केही व्यक्तिमा मात्र सीमित भएको बताएका छन् । बुधबार ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चन्दले नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा रहेको बताएका हुन् ।
‘सबै पार्टीका नेताहरूले आर्थिक संकट निम्तिँदै छ भन्नुहुन्छ । नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा जाँदैछ । नेपालको अर्थतन्त्र २ सय परिवारको हातमा जाँदैछ,’ उनले भने । त्यस्तै बहुसंख्यक नेपाली गरिबीको मारमा परेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाले नै अर्थतन्त्र संकटमा परेको चन्दले दाबी गरे । ‘९० प्रतिशत नेपाली गरिबीको मारमा परिरहेका छन् । यो केबल आर्थिक संकट मात्र होइन राजनीतिक संकट पनि हो । हालै मात्र संघ र प्रदेश र स्थानीय तहका चुनाव भए । तर अत्यन्त्रै फितला सावित भए । वर्तमान व्यवस्थाप्रति जनताको विश्वास गुम्दै गएको छ । संसद्वादी दलले जनतालाई घुमाइरहेका छन्,’ उनले भने ।
नयाँ दल आउनु सकारात्मक कुरा भए पनि व्यवस्थामै समस्या भएको पनि चन्दको दाबी छ । उनले अगाडि भने, ‘नयाँ दल आउनु सकारात्मक कुरा पनि हो । तर नेपालको सन्दर्भमा पार्टीहरू मात्र समस्या होइनन् । व्यवस्था नै हो । दलाल पुँजीवादी सत्ताकै कारण यो समस्या आएको हो । चुनाव वा सरकारको हेरफेर मात्र समस्या समाधान होइन । नेपाललाई वैज्ञानिक समाजवादतिर लगेर आर्थिक क्रान्तिको आवश्यकता छ ।’
युवाहरूमा देखिएको परिवर्तनको हुटहुटीलाई रूपान्तरण गर्न आवश्यक रहेको पनि आफूहरूको निष्कर्ष रहेको उनले बताए । तराईमा मिटरब्याज र पहाडमा लघुबित्तले समस्या निम्तिएको चन्दले बताए । ‘तराईमा मिटरब्याजले उठिबास भएको छ । जीवनस्तर उकास्ने आशले ऋण लिएका छन् तर उनीहरूको जायजेथा उठाइएको छ । पहाडमा लघुबित्तहरूले त्यस्तै समस्या उत्पन्न भएका छन्,’ उनले भने ।
प्रतिकृया