• २८ जेठ २०८३, बिहीबार
  • ११:१८ बिहान

टर्की भुकम्पमा ज्यान गुमाउनेको संख्या झन्डै १० हजार

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०२:४४

२५ माघ, २०७९, काठमाडौँ: सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ।


अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने आस कम हुँदै गएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्।

Kamana Sewa

हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्। विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ। उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्।

Classic Tech Desktop

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ। भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ।


सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन। उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन्। गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ। विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।


अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो। भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्। टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।

प्रतिकृया