• ११ असोज २०८३, आइतबार
  • १२ः५१ दिउँसो

अर्थतन्त्र लयमा फर्किएसँगै सेयर बजारमा उछाल

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०३:२८

२४ माघ २०७९, काठमाडौँ: अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिकपछि सेयर बजारले पुन: गति लिएको छ। साताको सुरुवातबाटै बजार सुस्त थियो। तर बाह्य क्षेत्रको सन्तोषजनक अवस्था सार्वजनिक भए लगत्तै बजारमा माग ह्‍वात्तै बढेको छ।

National Life

महिना दिनपछि बजारले ७६.६४ अंकको फराकिलो फड्को मारेको छ। नभए राजनीतिक अनिश्चयले गर्दा बजारमा बिक्रेता हावी हुन थालेका थिए। घट्दो ब्याजदरप्रति समेत सेयर बजार सकारात्मक हुन सकेको थिएन।


सोमबार राष्ट्र बैंकले अर्थतन्त्रका समस्टिगत सूचकांक प्रगतिउन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेको थियो। जसले लगानी प्रोत्साहन गर्ने हुँदा बजारमा माग उच्च देखिएको छ। २१ सयलाई नाघेको परिसूचकले एकैदिन लामो छलाङ लिएर २१७७ मा कायम भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सक्रिय कारोबारीहरु २२७७ यताको करेक्सनले पनि यस वृद्धिलाई बढावा दिएको तर्क गर्छन्। यद्यपि क्षतिग्रस्त अर्थतन्त्र पुन: लयमा फर्किएका कारण लगानीकर्ताको मनोबल वृद्धि भएको उनीहरुको धारणा हो।


विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको र आयात घटेका कारण शोधनान्तर झन्डै एक खर्ब बचतमा गएको छ। शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत बन्दछ। राष्ट्र बैंकले पुससम्मको आर्थिक तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर ९७ अर्ब १० करोड रुपैयाँ बचतमा पुगेको जनाएको हो। जबकी भदौमा शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो।


उच्च ब्याजदर र शत प्रतिशत मार्जिनको व्यवस्थाले आयातमा कमी आएर व्यापार घाटा पनि खुम्चिएको हो। तर, राष्ट्र बैंकले शत प्रतिशत मार्जिनलाई हटाइसकेको छ। विदेशी विनिमयको सञ्चितिमा व्यापक सुधार देखिन्छ। मुलुकसँग झन्डै ९.१ महिनाको सेवा तथा वस्तु आयात धान्ने सञ्चिति छ।

प्रतिकृया