• 4:06 pm

अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ११:५४

२२ पुष, २०७९, काठमाडौँ : राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको १५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सकेमात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।


उनले अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए । कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष केशव बढालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको बताए । उनले अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।


नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरुले महत्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरु निर्माण गरिदिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथी उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा काम गरेको बताए । सहकारी विभागका रजिष्टार रुद्र प्रसाद पण्डितले नेपलामा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी कृषि सहकारी रहेको बताए । उनले किसानहरुको हितमा काम गर्ने संस्थाका रुपमा नेपाल कृषि सहकारी केन्द्रीय संघले भूमिका खेल्नुपर्ने बताए । रजिष्टार पण्डितले अहिले सहकारीले आफ्नै उद्योग सञ्चालन गर्न केही कठिनाईहरु रहेको भन्दै आगामी दिनमा यि समस्याहरु समाधानका लागि आफु तयार रहेको बताए।


कार्यक्रममा साना किसान कृषि सहकारी संस्था मार्फत उत्कृष्ट कार्य गरेका शिर्ष साना किसान कृषि सहकारी संस्था लि, डडेलधुराका लालसिंह राउटेलाई उष्कृष्ट किसानका रुपमा पुरस्कृत गरिएको छ । यसैगरी धादिङका चेत बहादुर गाईने, धनुषाकी बिना देवी महरा चमार, भुटी देवी मुसहर्नी धनुषा, ललिता देवी दास तत्मा धनुषा, झापाकी फुलमुनी हेमरम सतार, इलामकी सङमीत लाप्चा र चितवनको शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोज बहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लि। सुन्दरपुर की निवर्तमान अध्यक्ष किरण कुमारी चौधरीलाई प्रदान गरिएको थियो । यसैगरी देशभर रहेका ११ सय ३९ संस्था मध्ये साना किसान कृषि सहकारी संस्था लि। पृथ्वीनगर झापा र वसन्त साना किासन कृषि सहकारी संस्था लि। बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रुपमा पुरस्कृत गरिएको थियो ।


समुदायमा आधारीत साना किसान कृषि सहकारी संस्था मार्फत साना किसान र गरिब किसानहरुको आर्थिक अवस्था सुधारका लागि काम गर्दै आएका संस्थामार्फत सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सफल उत्कृष्ट प्रवन्धकका रुपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लि। इलामकी शान्ता कार्की खड्का, साना किसान कृषि सहकारी संस्था लि। बज्रवारहीका ध्रव प्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लि। विरेन्द्र नगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लि। बेदकोट दैजीका कर्ण बहादुर धामीलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि। को तालिम तथा अनुसन्धान केन्द्र चितवनमा कार्यरत कर्मचारी रामहरी भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो । नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लि। आवद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरु आवद्ध रहेका छन् ।

प्रतिकृया