आयात प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषदको निर्णय
प्रकाशित मिति
२०७९ मंसिर २० गते, मंगलवार ०७:१७
२० मंसिर २०७९, काठमाडौँ : सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धित वस्तुको आयात आगामी पुस १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको हो। विदेशी मुद्रा सञ्चितिको अवस्थामा पछिल्लो समय केही सुधार आएसँगै नेपालले वस्तु आयातलाई खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा गएको र सोही अनुसार निर्णय भएको स्रोतले जनाएको छ।
गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरु तोकेर आयात प्रतिबन्ध लगाइएको थियो। सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो। तर अहिले पनि तीमध्ये ४ वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। तिनमा एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा मात्र छन्। यो व्यवस्था मंसिर मसान्तसम्मको लागि कायम छ।
आजको मन्त्रिपरिषद बैठकले पुस १ गतेदेखि ति सामानसमेत आयात खुल्ला गर्ने निर्णय गरेको हो। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ। जुन चालू आर्थिक वर्षको सबैभन्दा उच्च विन्दु हो। आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।








प्रतिकृया