• ११ असोज २०८३, आइतबार
  • ७ः४१ बेलुका

अपराजित रहँदै सुदूरपश्चिम प्रदेश यु १९ क्रिकेटको फाइनलमा

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०७:४०

१६ मंसिर २०७९, काठमाडौँ : बागमती प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। बागमतीले प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९।१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

National Life

समान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेल्दा गजेन्द्र बोहोरा १९ रनमा अविजित रहे। यसअघि ओपनर दीपक बोहोराले १७ रनको व्यक्तिगत स्कोर बनाउँदा अर्का दीपक बोहोराले १० रनको पारी खेले। यस्तै मिलन बोहोराले ३३ रन जोड्दा ९ रन अतिरिक्त पाएको थियो। बलिङतर्फ बागमतीका रोशन विकले २ विकेट हात पारे भने प्रतिक श्रेष्ठको नाममा एक विकेट रह्यो।


त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले २८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २४ रनको योगफल बनाएको थियो। प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा ओपनर सक्षम बस्ताकोटीले ३३ रनको योगदान दिए। रोशन बिक ३६ रनमा नटआउट रहे भने अन्य सात ब्याट्सम्यान शून्य रनमा पवेलियन फर्किएका थिए। बागमतीको इनिङलाई रोक्न आशास चन्दले ह्याट्रिकसहित ४ विकेट निकाल्दा हेमन्त धामीले ३, नरेन साउदले २ तथा युवराज खत्रीले १ विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

लिग चरणका सबै खेलमा स्पष्ट जित निकालेर फाइनलमा स्थान बनाएको सुदूरपश्चिम प्रदेश १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। उता पराजित वागमतीले ६ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा झरेको छ। एक खेल कम खेलेको लुम्बिनी प्रदेशको समान अंक भए पनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। अब लुम्बिनीले शनिबार हुने खेलमा मधेस प्रदेशलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ। यदि मधेस प्रदेशसँग लुम्बिनी फराकिलो अन्तरले पराजित भएको अवस्थामा बागमतीको फाइनल प्रवेश सम्भावना रहन्छ।


यस्तै कीर्तिपुर मैदानमा सम्पन्न अर्को खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै मधेस प्रदेशले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ। मधेसले आफ्नो पाचौं खेलमा सुखद् नतिजा निकालेको हो। गण्डकीले दिएको २ सय १४ रनको लक्ष्य मधेसले निर्धारित ५० ओभर सकिन ९ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेटायो। पहिलो जित निकाल्ने क्रममा मधेस प्रदेशका ओपनर मयन यादवले ४९ रनको व्यक्तिगत स्कोर बनाउँदा मेघराज रामले ४३, अलि अनसारीले ३२, इमरान शेखले २७, सर्फराज मनसुरी र दाब्लु मलिकले समान २१-२१ तथा कप्तान अभिषेक तिवारीले १३ रन बनाए।


यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो। उसका लागि ओपनर गोविन्द बिकले अर्धशतकीय पारी खेले। ८४ बलको सामना गरेका गोविन्दले ४ चौकाको सहयोगमा ५३ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमाल ११ रनमा पवेलियन फर्किएका थिए। यस्तै सुजन गौतमले ३० रन जोड्दा, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।


गण्डकीको सबै विकेट लिने क्रममा मधेसका अविजित मण्डल, नितिश यादव र अभिषेक तिवारीले समान २-२ विकेट हात पार्दा सिमन रोयले सर्वाधिक ३ तथा निकेश गुप्ताले १ विकेट निकाले। योसँगै गण्डकीले ६ खेलबाट पाँचौ हार भोगेको छ। दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। प्रतियोगितामा शनिबार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया