रोहित र दीपेन्द्रको सतक, पहिलो अभ्यास खेलमा नेपालले भारतीय टोलीलाई दियो ३०४ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:०८

८ मंसिर २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको दिल्ली एन्ड डिस्ट्रिक क्रिकेट एसोसियसन (डिडिसिए) लाई ३ सय ४ रनको लक्ष्य दिएको छ। आइसिसी लिग टु को तयारीमा रहेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले।


रोहितले १३५ बलमा ११ चौका र १ छक्कासहित ११३ रन बनाए। यस्तै विस्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ६२ बलमा ६ छक्का र ६ चौकासहित १०९ रन बनाए। ऐरीले ५८ बलमै शतक पूरा गरेका थिए। खराब सुरूआत गरेको नेपालले १० ओभरमा २६ रन मात्र जोडेको थियो। नेपालका ५ खेलाडी शुन्यमा आउट भए। अर्जुन साउँद, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, गुल्सन झा र सोमपाल कामीले खाता खोल्न सकेनन्।


हरिशंकर साहले २५ रन बनाउँदा कुशल भुर्तेलले २१ र आरिफ शेख १८ रमा नटआउट रहे। भारतीय टोलीका लागि प्रिन्स यादवले ३ तथा मनिस सेरावतले २ विकेट लिए। नेपाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया भ्रमण गर्नुअघि दिल्लीमा अभ्यास खेल खेलिरहेको हो। नेपालले नामिबिया भ्रमणअन्तर्गत सिरिज २ डिसेम्बरदेखि खेल्नेछ। सिरिजमा नेपालले नामिबिया र स्कटल्याण्डविरुद्ध खेल्नेछ।

प्रतिकृया