नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गर्न प्रधानमन्त्री पोखरा जाँदै
प्रकाशित मिति
२०७९ कार्तिक ३ गते, बिहीबार १०:४७
३ कार्तिक २०७९, काठमाडौँ: पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री देउवा आज बिहीबार दिउँसो पोखरा जाने कार्यक्रम तय भएको छ ।
पोखरा रंगशालामा बिहीबार साँझ हुने राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंगशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा पुग्ने कार्यक्रम मिलाइएको उनको निजि सचिवालयले जनाएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
प्रतियोगिता समापन अघि पोखरा रंगशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ । नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज सकिँदैछ ।
समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण पनि गरिने भएको छ । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए । ‘२०८१ बैशाख वा मंसिरमा गर्ने मिति भने तय भएको छैन् ।
बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको थियो । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए ।
संयोजक कुँवरकाअनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह राखिएको छ ।








प्रतिकृया