महानगरको भागबण्डा मिलाउन गठबन्धनको बैठक सुरु
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार १०:४२
५ बैशाख २०७९, काठमाण्डौं : सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको छ । नौ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको संयन्त्रको बैठक सवा दश बजे मात्रै सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल हुने नेताहरूले बताएका छन् । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ आफ्नै दाबी छन् । आइतबारको बैठकमा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे पनि काँग्रेस मान्न तयार छैन । त्यस्तै ११ उपमहानगरमा पनि दलहरूका आआफ्नै दाबी भएकाले सहमति जुट्न कठिन हुँदै आएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
प्रतिकृया