• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

लागत नउठेपछि औषधी व्यवसायीले जीवनजलको उत्पादन बन्द गर्दै

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०५:४१

२३ चैत्र २०७८, काठमाडौँ : लागत नउठेपछि औषधी व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्ने भएका छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर बिक्री वितरण गर्न नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी गरेका छन् ।


सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकेको भए पनि एक प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँ लाग्ने गरेको छ । सरकारले तोकेको मूल्यमा बिक्री गर्नका लागि जीवनजल उत्पादन नै गर्न नसकिने अवस्था रहेको नेपाल औषधी उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले जनाएका छन् ।

Kamana Sewa

‘अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नको लागि लागत मात्रै १६ देखि १७ रुपैयाँ आउँछ, यस्तो अवस्थामा हामीले कसरी बेच्न सकिन्छ ?’ उनले भने । २०६४ सालमा औषधी व्यवस्था विभाग, औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन ।

Classic Tech Desktop

अहिले बजारमा जीवनजलको अभाव देखिएको छ, स्वदेशी उद्योगले लागतका कारण उत्पादन बन्द गर्नु परेको उनको भनाइ छ । ‘अहिले कुनै पनि गाउँमा झाडापखला सुरु भयो भने जीवनजल लगभग पाइँदैन, औषधी व्यवसायीहरूले अब यसमा चाहेर पनि केही गर्न नसक्ने अवस्था आइसकेको छ,’ उनले भने ।


यसअघिसम्म व्यवसायीहरूले अन्य उत्पादनहरूको फाइदा समायोजन गरी जीवनजल उत्पादन गर्दै आएका थिए । उद्योगीले साढे ३ वर्षअघि विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिँदै औषधी व्यवस्था विभागलाई पत्र पठाएका थिए । त्यसबेला जीवनजलको लागत १४ रुपैयाँ थियो ।

प्रतिकृया