• १६ असोज २०८३, शुक्रबार
  • ६ः४२ बिहान

नेपालले पिएनजीलाई दियो २०४ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०३:१३

१७ चैत २०७८, काठमाडौं : नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले पिएनजीलाई २०४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।

National Life

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी–२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे। यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।


नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए। रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे। यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो। आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ। प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल शनिबार मलेसियासँग खेल्नेछ। प्रतियोगिताको फाइनल सोमबार हुने भएको छ ।

प्रतिकृया