एनएसएलको टाइसिट ड्र रद्द गर्न एन्फाको निर्देशन
प्रकाशित मिति
२०७८ चैत्र ५ गते, शनिबार १०:५५
५ चैत्र २०७८, काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसएल) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच विवाद चुलिएको छ । एनएसएलले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको निर्देशन पालना नगर्दा यो विवाद उत्पन्न भएको हो ।
एन्फाले आइतबारका लागि तय भएको एनएसएलको टाइसिट ड्र रद्द गर्न एनएसएललाई शुक्रबार पत्र पठाएको हो ।
चैत ४ गते बसेको एनएसएल प्रतियोगितासम्बन्धी कार्यदलको बैठकले बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा शहीद स्मारक ए डिभिजन क्लब र एनएसएल प्रतियोगिता आयोजकसँग अझ छलफल गर्न आवश्यक भएकोले आइतबारका लागि राखिएको टाइसिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई लेखेको पत्रमा भनिएको छ ।
एन्फाले गत फागुन २० गते एनएसएलको अक्सन रोक्न एनएसएललाई पत्र पठाएको थियो । तर एनएसएल आयोजकले उक्त पत्रको बेवास्ता गर्दै अक्सन गरेका थिए । ए डिभिजन लिगका क्लबहरूले पनि एनएसएलमा खेलाडी अनुबन्धको विषयलाई लिएर प्रश्न उठाएका थिए ।
गत फागुन १५ मा ए डिभिजन लिगका ८ क्लबहरूले संयुक्त रूपमा विज्ञप्ति नै निकाल्दै खेलाडीहरूको दोहोरो सम्झौता रोक्न आग्रह गरेका थिए । तर चार क्लबहरू आफ्नो निर्णय प्रति पछि हटे पनि न्यूरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र सङ्कटा क्लबका प्रतिनिधिले एनएसएलले फिफा र एएफसीको नियम मिचेर खेलाडीको अक्सन गरेकोमा गत आइतबार पत्रकार सम्मेलन गर्दै असन्तुष्टि जनाए ।







प्रतिकृया