युक्रेनको समर्थनमा युद्धमा होमिएका नेपालीले भिडियोमा के भने ?
प्रकाशित मिति
२०७८ फाल्गुन १९ गते, बिहीबार ०२:४८
१९ फाल्गुन २०७८, काठमाडौं : रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भइरहेको युद्धमा रुसी आक्रमणको सामना गर्न युक्रेनका सर्वसाधारण देखि राष्ट्रपति, सांसद र पूर्व मिस युक्रेन पनि डटेर लागिरहेका छन् । विश्व शक्तिराष्ट्र रुसको सेनाविरुद्ध लडिरहेको युक्रेनका राष्ट्रपतिले केही दिनअघिमात्रै विदेशीहरुलाई युक्रेनी सार्वभौमिकताको रक्षार्थ रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेन आउन आह्वान गरेका थिए । उनले युक्रेनी फौजमा बेग्लै ‘विदेशी डफ्फा’ (फरेन लिजन) को व्यवस्था गर्ने पनि घोषणा गरेका थिए । यसलगत्तै, एक नेपालीले युक्रेनको समर्थन गर्न युद्धमा होमिन तयार भएको खुलासा गरेका छन् ।

अरु नेपालीहरुले सुरक्षित साथ युक्रेन छाडिरहेका बेला नेपाली युवा प्रताप बस्नेत भने रुसी फौजविरुद्ध लड्न अघि सरेका हुन् । युक्रेनबाट भिडियो सन्देशमार्फत् उनले आफू युक्रेनको पक्षबाट लड्न लागेको बताएका हुन् । रेडियो स्वोदाले सार्वजनिक गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सो भिडियोमा उनले आफु युक्रेनको पक्षमा लाग्न पाउँदा गौरवान्वित महशुस गरिरहेको बताएका छन् । ‘मलाई खुब गर्व लागिरहेको छ किनकी मैले युक्रेनको पक्षमा उभिने निर्णय गरेको छु । म अहिले सेनामा सहभागि हुन सैनिक बेस अगाडि उभिएको छु ।’ उनले भिडियोमा भनेका छन् ।

‘मेरो नाम प्रताप बस्नेत हो र म नेपालबाट आएको हुँ । यो भूमि युक्रेनको हो र रुसलाई उनीहरुको निर्णयमाथि हस्तक्षेप गर्ने कुनै अधिकार छैन, उनले भनेका छन् ।
‘पछिल्लो अवस्थाका कारण म रातभर सुत्न सकेको छैन । किनकी यो मानव अधिकार र मानवताको सवाल हो ।’ आफूलाई अहिले युक्रेनमा सुरक्षित महसुस नभएको भन्दै उनी भन्छन्, ‘म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु । किनकी म यहीँ काम गर्छु । गास बास पनि मलाई युक्रेनले नै दिएको छ । अनि यतिबेला युक्रेनलाई मेरो सहयोग चाहिएको छ र म सेनामा लाग्न आएको हुँ ।’
‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ।’



प्रतिकृया