• २२ भदौ २०८३, सोमबार
  • ८ः४६ राती

मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तित

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०६:४८

ऋषि खनाल
३० पुस २०७८, काठमाडौँ : भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका ३ नं वडाका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि ज्येष्ठ नागरिक चिन्तित भएका हुन् । मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको भिमसेनथापा गाँउपालिका-३ का ७० वर्षीय तेज प्रसाद खनालले बताए । “धेरै भो मध्यरातमा शङ्ख फुकेको सुनिन छाडिएको, धेरै भो घरआँगनमा बालन गीत गाउन छोडिएको र धेरै भो भजन चुट्काको आवाज गुञ्जिन छोडेको”, उनीले भने । यसको संरक्षणको लागि युवापुस्ताले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ ।

National Life

नेपाली समाज आफ्नै संस्कार र शैलीका कारण धनी छ तर अब समाजसँग जोडिएका यस्ता सम्पत्ति विलिन हुन थालेको उनको अनुभव छ । “बूढापाका सुस्ताउने चौतारा, साँझ बिहान भजन गुञ्जिने पाटीपौवा भेटिन छाडिसके”, उनले भने । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुड्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको पाइन्छ तर पछिल्लो समय गोरखाका गाउँघरमा यो संस्कृति ओझेलमा पर्नुका साथै विस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।


यस्तै संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले भिमसेनथापा ३ का ज्येष्ठ नागरिक मिलेर भजन गाउने र पौराणिक पात्रको कथा सुन्ने अवसरको व्यवस्था गरिएको छ । भजनकीर्तनको संरक्षण गर्नका लागि सिद्धकाली भजन समुहसमेत गठन गरिएको छ । समाजबाट मूल्यमान्यता हराउन नदिन उनीहरुले चालेको कदम अनुकरणीय रहेको छ । शिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पूजालगायत धार्मिक उत्सवमा आयोजना गरिने भजनकीर्तनबाट पुण्य मिल्ने को विश्वास छ । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्र वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । उनले भने, “भजनकीर्तन भनिने कुरा हराएर, अहिलेको समयमा आधुनिक गीतका दोहोरी मात्र गाउने गरेको भेटिन्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेका युवापुस्तालाई खासै भजनकीर्तनमा चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको छ । देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता रहेको सिद्धकाली भजन समुहका अध्यक्ष शिव प्रसाद बञ्जाराले बताए । वरपर छरछिमेकका मानिस जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःखसमेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने उनले बताए ।


पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा पनि भजन संस्कृतिका झलक देखाउने गरिएको छ । भजनकीर्तनमा शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथालाई गीतका रूपमा गाइन्छ । सृष्टिदेखिका भगवान्का लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गर्ने गरिन्छन् ।


देवीदेवताको गुणगानमा केन्द्रित भजनकीर्तनको रौनकले थकाइबिना रात र दिन सजिलै बिताउने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । जनसंस्कृतिलाई लोकसाहित्यको एउटा महत्वपूर्ण पक्ष मानिने भएकाले यसको संरक्षण गर्न भजन समुहगठन गरिएको समितिका अध्यक्ष बञ्नाराले जनाए । बाबुबाजेको पालादेखि चल्दै आएको भजन संस्कृति धर्मशास्त्रमा आधारित भएको र धार्मिक महत्व रहेकाले यसको संरक्षणका लागि विशेष चासो दिनुपर्ने सरोकारपक्ष बताउँछन् ।

प्रतिकृया