पिएसजीको जितमा एमबाप्पे हिरो
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०८:३७

२७ मंसिर २०७८, काठमाडौं : फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन पिएसजी ले लिग वानमा सहज जित निकालेको छ ।
घरेलु मैदानमा पिएसजीले मोनाकोलाई २–० ले पराजित गरेको हो । दुवै गोल एमबाप्पेले पहिलो हाफमा गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।
पेनाल्टी बक्समा एन्जल डि मारियालाई डिजव्रिल सिडिवेले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे चुकेन । ४५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोलका अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा एमबाप्पेको पहिलो हाफको दुई गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १३ अंकले पछि पारेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रतिकृया