मंसिर २८बाट ई-पासपोर्ट अनिवार्य, मेसिन रिडेबल पासपोर्ट वितरण बन्द हुने
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार १२:१९
१६ मंसिर २०७८, काठमाडौं : मंसिर २८ गतेबाट राहदानी विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने भएको छ । सोही दिनदेखि विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ ।
विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरिसकेको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गर्ने योजना विभागको छ ।
ई-पासपोर्ट वितरण थालेपनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको छ ।
विभागका प्रवक्ता शरदराज आरनका अनुसार अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने छ ।
अब भने विभागको मुख्य कार्यालयबाट ई पासपोर्ट मात्रै वितरण गर्ने योजना छ । ‘विदेशस्थित कुटनीतिक नियोगबाट भरिसकेका फारमहरु अनुसार एमआरापी नै छपाइ भएर वितरण हुन्छ,’ प्रवक्ता आरनले भने । अहिलेसम्म विभागले ७१ लाख १० हजार एमआरपी वितरण गरिसकेको छ भने करिब एक लाख एमआरपी बुक मौज्दातमा छन् ।
अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण थाल्ने तयारी पनि छ । काठमाडौं उपत्याकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट पनि दैनिक रुपमा ई-पासपोर्ट वितरण थाल्न लागिएको हो ।
विभागले साधारणसहित कुटनीतिक, सर्भिस, विशेष, अस्थायी र सिमेन्स राहदानी पनि वितरण गर्ने छ । करिब ७० लाख एमआरपी वितरण गरेपछि गत १ मंसिरदेखि सरकारले ई-पासपोर्ट वितरण थालेको थियो ।







प्रतिकृया