‘मन्त्रीको गोप्य कोठामा सिसी क्यामेरा राखियोस्’
प्रकाशित मिति
२०७८ श्रावण २४ गते, आईतवार ०४:५०
२४ साउन, २०७८ काठमाडौँ : राष्ट्रिय सभा सदस्य डा। खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गोप्य कोठामा बसेर गर्ने काम कारबाहीको विषयमा प्रश्न उठाउँदै त्यस्तो कोठामा सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै देवकोटाले मन्त्री र सचिवले गोप्य कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उनीहरुको काम कारबाही देखिनेगरी सिसी क्यामेरा राख्नु आवश्यक रहेको बताएका हुन् ।
गोप्य कोठामा बसेर काम गरेको जनताले देख्न पाउनुपर्ने उनको भनाइ छ । यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आइएनजिओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने उनले बताए । उनले भने, ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो, तर जनताले अपेक्षा गरे अनुसारको सेवा पाएनन् भन्ने ठुलो गुनासो छ । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंगहरु निरन्तर क्रियाशिल हुनुपर्छ । रचनात्मक हुनपनि जरुरी छ । पारदर्शी र जवाफदेहीता पनि त्यत्तिकै आवश्यक छ ।
यसै सन्दर्भमा एउटा काम यो सरकारले गरोस्, हाम्रै अध्यक्ष र संसद सचिवालयले पनि लागु गरे हुन्छ । हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिनेगरी सिसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी दिएन । शासकहरु पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति दुई बजे संसद विघटन गर्ने हिम्मत गर्ने थिएन ।
यसले अनावश्यक भेटघाट रोक्छ । समयमै कार्यालय पुग्ने बानिको विकास हुन्छ । कार्यालय छोडेर एनजिओ, आइएनजिओका कार्यक्रम र अनावश्यक रुपमा रिबन काट्न जाने बानिमा सुधार ल्याउँछ ।’ उनले सरकार साझा नीति तथा कार्यक्रमहरूबाट पनि विचलित हुनु नहुने बताए । सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बन्नुपर्ने र संयन्त्रको सुझावलाई अक्षरंश कार्यान्वयन गर्नुपर्ने उनले बताए ।







प्रतिकृया