• १७:३९ २०८० चैत्र १५ गते
  • 5:39 pm

टोकियो ओलम्पिकको आज औपचारिक उद्घाटन, नेपालकी सोनिया भोलि रुसी इरिनासँग भिड्ने

प्रकाशित मिति

२०७८ श्रावण ८ गते, शुक्रबार ०७:२८

1556104948Gaurika

८ साउन काठमाडौँ : ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । केही खेलको प्रतिस्पर्धा अस्ति बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागेको हो । राजधानी टोकियोको ओलम्पिक स्टेडियममा विशेष समारोहबीच नेपाली समय अनुसार अपरान्ह ४ : ४५ बजे टोकियो ओलम्पिकु सुरु हुनेछ ।


विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा भाग लिन नेपालसहित विभिन्न देशका खेलाडी, प्रशिक्षक र अधिकारीह टोकियो पुगिसकेका छन् । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्ने छन् ।


भोलि सोनियाले इरिनासँग खेल्ने

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । २४ साउनसम्म सञ्चालन हुने ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउने छ । भोलि जुडो खेलमा नेपालकी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन् । हिजो सार्वजनिक भएको खेल तालिकाअनुसार सोनियाले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।


उनले ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । सोनिया विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छिन् । पदकको टुङ्गो पनि भोलि नै लाग्नेछ । सोनिया वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा मौका दिएको हो । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) मा कास्य पदक हात पारेकी थिइन् । उनले महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।


ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा सुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन । यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली भोलि टोकियो जाने छ ।

प्रतिकृया