संसद विघटनविरुद्ध सडक संघर्ष सुरु गर्ने विपक्षी गठबन्धनको तयारी
प्रकाशित मिति
२०७८ असार १० गते, बिहीबार ०९:४०

काठमाडौँ : संसद विघटन विरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनले सडक आन्दोलन पनि अघि बढाउने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बेलुका बसेको विपक्षी गठबन्धनका दोस्रो तहका नेताहरुको बैठकले सडक आन्दोलनको प्रारुप तय गर्नका लागि कार्यदल बनाएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एमाले माधव नेपाल समूहका शीर्ष नेताहरुको निर्देशन अनुसार दोस्रो तहका नेताहरुको बैठक बसेर सडक आन्दोलनलाई पनि अघि बढाउने निर्णय गरेको हो ।
नेताहरु भीम रावल, पूर्णबहादुर खड्का, राजेन्द्र श्रेष्ठसहितको कार्यदल बनाइएको छ । सो कार्यदलले आन्दोलनको प्रारुप तयार पार्ने छ ।
पहिलोपटक संसद विघटन हुँदा विपक्षी गठबन्धनले सडक आन्दोलनलाई उत्कर्षमा लगेको थियो । यो पटक पनि कोरोना भाइरसको संक्रमण केही कम हुन थालेसँग सो गठबन्धनले कानूनी लडाईँसँगै सडक आन्दोलन पनि अघि बढाउने भएको हो ।
संसद विघटन विरुद्ध परेको रिटमाथि अहिले सर्वोच्च अदालतमा विषय केन्द्रित बहस जारी छ।
प्रतिकृया