जसपाको ठाकुर पक्ष आज सरकारमा सहभागी हुने
प्रकाशित मिति
२०७८ जेष्ठ २१ गते, शुक्रबार ०१:४४
काठमाडौँ : जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको माग सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएका छन्।
मन्त्रीको लिष्टमा परेका नेता लक्ष्मणलाल कर्णले शुक्रबार सरकारमा जाने तयारी भएको देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘कुरा मिलेको छ। आज सरकारमा सहभागी हुन्छौँ। तयारी भइरहेको छ।’ जसपाले ओलीसमक्ष राखेका पाँचवटै माग सम्बोधन भएको जनाएको छ। संविधान संशोधनका लागि कार्यदल गठन, कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, अध्यादेशमार्फत नागरिकता ऐन संशोधन भएपछि ठाकुर पक्षीय नेताहरु उत्साहित छ।
जसपाबाट महतो र कर्णसँगै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव रहेका छन्। दुई राज्यमन्त्रीको पनि टुंगो लागि सकेको बताइएको छ। जसपाले महतोलाई गृहमन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरे पनि ओलीले अस्वीकार गरेका छन्। माओवादीबाट एमाले छिरेका मन्त्रीलाई सर्वोच्चले पदमुक्त गरेपछि आठवटा मन्त्रालय खाली छ। ओलीलाई समथर्न गर्ने विषयले जसपा औपचारिक विभाजनको चरणमा प्रवेश गरेको छ। अर्का अध्यक्ष उपेन्द्र यादव र ठाकुरले एक अर्कालाई पार्टीबाट निष्काशन गरेर निर्वाचन आयोगलाई जानकारी गराए पनि आयोगले मान्यता दिएको छैन।







प्रतिकृया