• ५ साउन २०८३, मंगलबार
  • १०:४९ बेलुका

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा नेपाल प्रहरी

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार ०३:३८

काठमाडौं: विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ । हालसम्म ३ हजार १ सय ४१ जना कोभिड सङक्रमित बिरामीहरूले नेपाल प्रहरी अस्पतालमा निःशुल्क उपचार सेवा लिई डिस्चार्ज भएका छन् ।


हालसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको निधन भएको छ । अस्पतालले हालसम्म १७ हजार ३ सय ६४ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

Kamana Sewa

हाल अस्पतालमा कोभिडबाट सङ्क्रमित १ सय ८७ जनाको भर्ना लिई निःशुल्क उपचार भईरहेको छ । उपचाररतमध्ये ३० जना आईसियुमा, ८० जना एचडियू (हाई डिपेन्डेन्सी यूनिट) मा र ७७ जना सामान्य अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् । अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेशनमा राखी उपचारको व्यवस्था गरिएको छ ।

Classic Tech Desktop

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन गरिएका काम र विविध प्रयासबारे अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्नुहुन्छ, ‘अस्पतालमा फिभर क्लिनिक स्थापनाको साथै कोभिड–१९ र नन–कोभिड विरामी छुट्याई विरामीको अवस्था अनुसार इमरजेन्सी सेवा, डायलायसिस, शल्यक्रिया आदिको समेत व्यवस्था मिलाई प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सकबाट सेवा उपलव्ध गराईएको छ ।’


नेपाल प्रहरीको सक्रियतामा हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं,
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ७ सय २९ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् ।


निषेधाज्ञा उल्लंघन गर्ने हालसम्म १ लाख १ हजार २ सय ६४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडौं,
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख १ हजार २ सय ६४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।


गुणस्तरहीन ह्यानण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ
काठमाडौं
, गुणस्तरहीन ह्यानण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका–१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका–१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१ कुपन्डोलबाट गुणस्तरहीन ह्यानण्ड स्यानिटाइजर उत्पादन गरिरहेको र बिक्री बितरण गर्न लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


सवारी दुर्घटनामा परी मृत्यु
कास्की,
माछापुछ्रे गाउँपालिका–८ ठाटीस्थित सडकमा रिभानबाट लुम्लेतर्फ जादै गरेको ग.१४ प ९७५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार माछापुछ्रे गाउँपालिका–८ लुम्ले बस्ने १८ वर्षीय लक्की बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रे, बनेपा नगरपालिका–१४ सिमगैरास्थित भैसीपाटीबाट सिमगैरातर्फ खेत जोत्न जाँदै गरेको हाते ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर गई दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–१३ बस्ने अन्दाजी २७ वर्षीय राजेश बिष्टको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौं, काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित किरातेश्वर मन्दिर नजिक हाल नाम, थर, वतन नखुलकी अन्दाजी ४६ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बागलुङ, काठेखोला गाउँपालिका–१ चनौटे बस्ने दुर्गा बहादुर थापाकी छोरी १७ वर्षीया छाया थापा सोही ठाउँस्थित अक्षेते खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–४ औराह बस्ने ४० वर्षीय प्रकाश उप्रेती आफ्नै पुरानो घर र नवनिर्मित घरको जगको चेपमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका–१ ठिमुरास्थित मानव सेवा केन्द्रमा ५६ वर्षीय जीवन राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, सुनबर्षी नगरपालिका–३ भेलाईस्थित बाटो छेउको नालीमा संखुवासभा मादीमुलखर्क–२ घर भएका ६० वर्षीय वीर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।


रुखबाट लडेर मृत्यु
धादिङ, गल्छि गाउँपालिका–१ कल्लेरीटार बस्ने ३१ वर्षीय कृष्ण बहादुर भट्टराईको रुखबाट लडेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरदेखि अन्दाजी ५० मिटर टाढा बारीमा रहेको काप्रोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको बुढिगण्डकी अस्पताल गल्छिमा उपचारको क्रममा मृत्यु भएको हो

प्रतिकृया