• १३ असोज २०८३, मंगलबार
  • २ः२१ दिउँसो

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०९:४२

काठमाडौ : अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ।

National Life

 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्। बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ। पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म १ सय ४४ वटा ९सबै० बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

बेड खाली नभएपछि नाम लेखाएर कतिपय बिरामीलाई पखाईमा समेत राखिएको असपतालका डाक्टर विमल पाण्डले जानकारी दिए। ‘अस्पतालमा निकै अप्ठेरो छ, भएभरका बेड प्याक छन्, नयाँ बिरामीलाई पखाईमा राख्नुपरेको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ।’ दैनिक ४ सय जना बिरामी अस्पतालमा भर्ना हुन आए पनि अक्सिजन दिनुनपर्ने बिरामीलाई सामान्य चेकअपपछि फिर्ता पठाउने गरिएको उनको भनाइ छ। अक्सिजनसमेतको अभाव भएपछि अस्पतालमा त्रास पैदा हुन थालेको उनले बताए ।

 

चिकित्सकले मात्रै बिरामीको सबैखाले रेखदेख गर्न नसकेकाले कुरुवालाई समेत सँगै बस्न दिन थालिएको चिकित्सकको भनाइ छ। अस्पतालमा भीडभाड बढ्न थालेकाले अब कुरुवालाई बिरामीसँगै राख्न नदिइने एक चिकित्सकले बताए। उनका अनुसार गम्भीर प्रकृतिका र शारीरिक रूपमा कमजोर भएका बिरामीसँगै कुरुवा पनि राख्ने गरिएको छ।

 

‘हामीले मात्रै बिरामीको स्याहार गर्न सक्ने अवस्था छैन, संक्रमितलाई खाना खुवाउने, दिसापिसाब गराउने र अन्य अवस्था ख्याल गर्न कुरुवा पनि साथैमा राख्न भनेका छौं,’ इमर्जेन्सी कक्षका एक चिकित्सकले भने। उनले पछिल्लो समय संक्रमितको दर मात्रै नबढेर गम्भीर लक्षण देखिन थालेपछि अस्पतालमा चाप बढेको बताए। उनका अनुसार पाटन अस्पतालभित्र दुईवटा कक्षमा कोभिडका बिरामी राखिएको छ। सामान्य, गम्भीर र अति गम्भीर बिरामीलाई छुट्टाछुट्टै राखिएको छ।

(नागरिक दैनिक)

प्रतिकृया