• २२ भदौ २०८३, सोमबार
  • ६ः४८ बेलुका

संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०७:२४

काठमाडौ: नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल-भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

National Life

 

नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका अन्य कम्पनीहरूले कोरोना संक्रमण बढ्ने सम्भावना देखिन थालेसँगै उडान संख्या घटाउने वा बन्द गर्ने विषयमा चासो राख्न थालेको ती अधिकारीले बताए । आइतवार मात्रै जम्मा २० ओटा अन्तरराष्ट्रिय उडान भएको र २३ सय यात्रु बाहिरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Classic Tech Desktop

 

आइतवार मात्रै नेपालबाट ५० जना नेपाल भारत गएको र भारतबाट ६३ जना यात्रु नेपाल आएका थिए । कार्यालयका अनुसार आइतवार नेपालमा भारतसहित अन्य मुलुकबाट २ हजार मानिस आए । शनिवार भने २२ ओटा उडान भएका थिए ।अहिले नेपालमा अन्तरराष्ट्रिय उडान नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित एयर इन्डिया, अल जजिरा एयरवेज, एयर अरेबिया, कतार एयरलाइन्स, एयर चाइना, टर्किस एयरलाइन्स, सिल्क, फ्लाइ दुबईले उडान गर्दै आएका छन् ।

 

गतवर्षको बन्दाबन्दीदेखि थाइ एयरलाइन्सले उडान बन्द गरेको थियो । भारतमा कोरोना भाइरसको संक्रमण भयावह बनेसँगै नेपाल–भारत उडानमा निकै कमी आएको छ । नेपाल-भारत उडान नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै गर्दै आएका छन् । नेपालमा क्वारेन्टाइनमा बस्ने गरी केही साता अघि भारतीयहरू आउने गरेका थिए । नेपाललाई ट्रान्जिट बनाएर खाडी मुलुक जाने भारतीयहरू आउँदा होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार आएको थियो । केही साताअघि मात्रै दैनिक ५०० भारतीयहरू नेपाल आउने गरेको भए पनि आइतवारसम्म आइपुग्दा यो संख्या निकै घटेको छ ।

 

नेपालमा त्यसरी आउनेलाई सरकारले आइतवारदेखि नै आउन रोक लगाए पनि सोमवार भने यो निर्णयलाई उल्टाएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोभिड-१९ को पीसीआर परीक्षण सशुल्क गराइदिन सबै प्रयोगशालाहरूलाई आग्रह गरेको छ । नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जाने नेपालीबाहेकको हकमा यहाँ क्वारेन्टाइन बसेको र एयर बबल सुविधाअनुसार नेपाल आउनेलाई पीसीआर परीक्षण गराउन मन्त्रालय सूचना जारी गरेको हो ।

गतवर्षदेखि नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएको थाइ एयरलाइन्सले आफ्नै आन्तरिक कारणले उडान बन्द गरेको थियो । उसले विमानस्थलमा रहेको बिजनेश पनि बन्द गरिसकेको छ । अहिलेसम्म कुनै पनि कम्पनीले नेपालमा उडान बन्द गर्छौं भनेर औपचारिक जानकारी नदिए पनि इन्डियन जहाजले बन्द गर्ने सम्भावना भने देखिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
(आर्थिक अभियान दैनिक)

प्रतिकृया