तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे र अवैध लागूऔषध सहित छ जना पक्राउ
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०२:१७
तनहुँ: आबुखैरेनी गाउँपालिका-३ आबुखैरेनी बस्ने ५८ वर्षीय मन बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ४ सय ४० रुपैयाँ र १३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ हजार ४ सय ९८ ट्याब्लेट नाईट्राजेपाम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी सम्सी गाउँपालिका-२ बस्ने ४७ वर्षीय लाल बाबु नदाफ र २७ वर्षीय अलि हुसेन रहेका छन् । महोत्तरी गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२७ नम्बरको बसलाई लागूऔषध नियन्त्रण व्यूरो तथा महानगरीय प्रहरी प्रभागको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगाबाट करिब २ ग्राम ५ मिली ग्राम अवैध लागूऔषध ब्राउनसुगर पदार्थ, १ थान मोबाइल र नगद ४ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने सिरहा मिर्चैया नगरपालिका-६ घर भएका २३ वर्षीय रन्जित कुमार कारकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.९९ प ४१०८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कारकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौडा उपमहानगरपालिका-९ शान्ती चोकबाट २ केजी ४ सय ३५ ग्राम अवैध लागूऔषध गाँजा, करिब ७ ग्राम चरेश , १ थान बन्यजन्तुको आखेटोपहार सिङ् र नगद २६ हजार ३ सय ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने २४ वर्षीय सिदार्थ भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ दारु चोकबाट नियन्त्रित लागूऔषध १ सय २० ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका-५ बस्ने २८ वर्षीय रोहित मंडललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । स.१ ह ३७६० नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
मोरङ पथरी शनिश्चरे नगरपालिका-८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन् । पुरानो रिसइविका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते कृष्णको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






प्रतिकृया