वासन्ती छठ पर्व आज सम्पन्न
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ११:०९
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् ।
यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय-खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका बर्तालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय-खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पर्व सम्पन्न गरिने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठपर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।
मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति वासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता वासन्ती छठको रमझम पनि बढ्दै गएको छ ।
सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ । यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्वले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । वासन्ती छठ वासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व एउटै पक्षमा सँगसँगै पर्ने गरेको छ ।
प्रतिकृया