कोभिड सङ्क्रमणका कारण टोकियो ओलम्पिकमा दर्शकलाई प्रतिबन्ध
प्रकाशित मिति
२०७८ बैशाख ३ गते, शुक्रबार ०१:५५
टोकियोको जापानमा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का दुई प्रभावशाली नेताहरूले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।
तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।
एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए ।
टोकियो ओलम्पिक खेल हुन बुधबार १ सय दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।
जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ नरहने उनले बताएका छन् ।
के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भने, यो सम्भव छ । उनले अगाडि भने, जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।
टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरूले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन् ।
गत वर्ष पनि कोभिडको सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।






प्रतिकृया