• २४ भदौ २०८३, बुधबार
  • १ः३३ दिउँसो

हेलचक्र्याइँ गरे संक्रमण भयावह

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार १०:४२

काठमाडौँ: जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजार जनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ।

National Life

यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकारसँगको भेटघाटमा बताएका हुन्। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

मन्त्री त्रिपाठीले बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे। ‘कोरोना संक्रमणको दोस्रो लहरको प्रमुख कारणमा लापरबाही नै बढी देखिन्छ’, उनले भने। मन्त्री त्रिपाठीले फैलिँदो संक्रमण नियन्त्रण गर्न एक महिनाका लागि विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको बताए। लकडाउन गर्ने योजना भने हाललाई नरहेको उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार सीमा नाकाबाट प्रवेश गर्नेलाई नाकामै परीक्षण गर्ने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। बढ्दो संक्रमणलाई ध्यानमा राखी सबै अस्पताललाई तयारी अवस्थामा राख्न आवश्यक सामग्रीबारे जानकारी लिएको उनले बताए। नागरिकसँगको कुराकानीमा मन्त्री त्रिपाठीले रोकिएको खोप छिटै नेपाल आइपुग्ने संकेत गरे। ‘खोप छिटै आउँछ, कसैले नचिताएको खोप आउँछ’, उनले भने।

थप चारजनाको मृत्यु: कोरोना संक्रमणबाट गत २४ घण्टामा थप चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा थप पाँचजनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्षमाथिका १ हजार ९ सय १८ जना छन्। त्यस्तै ५० देखि ५९ वर्षका ५ सय १३ जना र ४० देखि ४९ वर्षका ३ सय १४ जना छन्। ३० देखि ३९ वर्ष उमेर समूहका १ सय ८२ जनाको ज्यान गएको छ। गत २४ घण्टामा थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

(नागरिक दैनिक)

प्रतिकृया