• २५ भदौ २०८३, बिहीबार
  • ८ः५३ राती

वायुको गतिविधि केही सक्रिय, तर प्रदूषण तत्काल हट्ने सम्भावना छैन

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०८:३२

काठमाडौँ:  वायु प्रदूषण तत्काल हट्ने र मौसम सफा हुने सम्भावना तत्काललाई नरहेकाले सावधानी अपनाउनु पर्ने मौसम तथा वातावरणविदले बताएका छन् ।

National Life

 

वायुको गतिविधि विगतका दिनमा भन्दा मंगलबार केही बढेको भए पनि वायुमा रहेको प्रदूषण बढार्ने सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

मौसमविद गंगा नगरकोटीका अनुसार मंगलबार विगतका दिनमा भन्दा भिलिविलिट अलि बढ्ने सम्भावना छ, तर प्रदूषण पूर्ण रुपमा भने हट्ने छैन ।

 

मौसमविद नगरकोटीले भनिन्, ‘आज बिहान हिजोको भन्दा भिजिबिलिटी बढेको छ । हिजो एक हजार मिटर मात्रै थियो, अहिले बिहानको भिजिबिलिटी १५ सय मिटर देखिएको छ । दिउँसो थप केही बढ्ने सम्भावना छ किनकी वायुको गतिविधि बिस्तारै सक्रिय हुँदै जाने देखिन्छ ।’

वायु मण्डल सुस्त गतिमा केही सफा हुने जस्तो भए पनि हाल कायम रहेको धुलोको तुँवालो तथा धुँवासहितको प्रदूषण पूर्णरुपमा हट्ने गरि मौसमी प्रणाली विकास भएको छैन ।

‘कायम प्रदूषण हट्नका लागि देशभर नै ठूलो मौसमी प्रणाली विकास भएर पानी पर्नु वा तीव्र गतिमा हावा चल्नु पर्ने हुन्छ’ मौसमविद नगरकोटीले भनिन्, ‘तत्काल ठूलो पानी पर्ने वा अति सक्रिय रुपमा वायु चल्ने मौसमी गतिविधि देखिँदैन ।’

यो वर्षको हिउँदमा खासै वर्षा नभएको तथा प्रि–मनसुन लागेपछि पनि पानी पर्न नसक्दा वायुमा धुलोका कणहरु जम्मा हुँदा प्रदूषण बढेको हो ।

त्यसमाथि देशभर भइरहेको डढेलोका घटनाले वायुमण्डलमा धुँवा मिसिँदा थप समस्या भएको हो । अहिले चितवन, सिन्धुली र नवलपरासीका वन क्षेत्रमा ठूलो मात्रामा डढेलो कायम रहेको वन विभागले जनाएको छ ।

गएको शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायू प्रदूषण उच्च तहमा पुगेको छ । लगातार काठमाडौँ विश्वका प्रदूषित शहरको सूचिमा कायम रहँदै आएको छ ।

सरकारले सोमबार वायु प्रदूषणलाई मध्यनजर गरेर चार दिनका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । तर प्रदूषणलाई सहयोग गर्ने सवारी साधान तथा उद्योगहरु केही दिनलाई बन्द वा आलोपालो गर्न तथा ढडेलो निभाउनका लागि काम गरेको देखिँदैन ।

स्वास्थ्य तथा वातावरण विदले अहिलेको वायु प्रदूषण निकै घातक रहेको र यो समस्या समाधानका लागि सरकारी प्रयास अनि कमजोर रहेको भन्दै आलोचना गरेका छन् ।

यहि बिचमा मौसमविदले कम्तीमा अबको तीन दिन हाल कायम वायु प्रदूषण पूर्णरुपमा हट्ने खालको मौसमी प्रणाली नदेखिएकाले सावधानी अपनाउन भनेका हुन् ।

मंगलबार पनि केही पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने देखिए पनि त्यो हावामा रहेको प्रदूषण पखाल्नका लागि पर्याप्त नहुने मौसमविद नगरकोटीले बताएकी छन् ।

बुधबार प्रदेश १ का पहाडी क्षेत्र र देशका विभिन्न भागमा खण्ड–खण्ड वर्षाको सम्भावना देखिएको तर त्यो देशभर सक्रिय हुने अवस्था नरहेको मौसम विभागले जनाएको छ ।

 

प्रतिकृया