• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

सिसडोलमा फोहोर फाल्न रोक, माग पूरा नभएको गुनासो

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०४:४४

काठमाडौँ: नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जन गर्न अवरोध गरेका छन्। काठमाडौँ महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर विसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन्।

National Life

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेयता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर विसर्जन गर्न दिएका छैनन्। उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौँ महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडी प्रवेश गर्न नदिने बताएका हुन्।

 

Classic Tech Desktop

विरोध प्रदर्शनमा उपस्थित भएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं। ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न नदिने बताए।   फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुङ्गानाले आफूहरुको माग एक दुई दिनमा पूरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिए।

 

विरोध प्रदर्शनमा उपस्थित ककनी गाउँपालिका वडा नं। २ का अध्यक्ष केदार पौडेल, वडा नं। १ का अध्यक्ष चन्द्रबहादुर बलामी, फोहोर मैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना र स्थानीयहरुले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दासमेत पूरा नभएको बताएका छन्। अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकूल असर परेको, सम्झौताहरु कार्यान्वयन नभएको र आफूहरुलाई राज्यले नागरिकको दर्जासमेत नदिएको गुनासो पनि प्रदर्शनकारीहरुको छ।

सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ। सरकारसँग पटक–पटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको पनि उनीहरुले बताएका छन्।

नुवाकोट ककनी गाउँपालिका वडा नं। १, २ र ३ का १६ वटा विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दी पूरा नगरेसम्म फोहोरमैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द गरिएको सङ्घर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया