• ५ साउन २०८३, मंगलबार
  • १०:२५ बिहान

 आउन थाल्यो रासायनिक मल, कृषि सामाग्री कम्पनीका ४१ वटा कार्यालयबाट बिक्री हुने

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ११:३१

काठमाडौं: नेपाल सरकारले बंगलादेशबाट जीटुजीमार्फत खरिद गरेको रासायनिक मलको पहिलो खेप वीरगंज आइपुगेको छ। ५० हजार मेट्रिक टनमध्ये २५ सय ४० मेट्रिक टन वीरगंज भन्सारमा आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ।

गत पुस २ गते नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टनको मलका लागि सम्झौता भएको थियो। उक्त खरिद सम्झौताको मल नेपाल भित्रिएको हो। बंगलादेश केमिकल इन्ड्रस्ट्रिजसँग नेपालले सरकारी तहबाट मल खरिदको सम्झौता गरेको थियो। खाँचो परेका बेला सम्झौता गरिए पनि तत्कालै बंगलादेशले पठाएको थिएन।

Kamana Sewa

सम्झौताको करिब तीन महिनापछि बंगलादेशी मल नेपाल भित्रिन सुरु भएको हो। २५ सय ४० मेट्रिक टन मल मंगलबार बेलुका वीरगंज भन्सारमा आइपुगेको छ। यो पहिलो लट हो, कृषि सामाग्रीका प्रवक्ता विष्णु पोखरेलले भने, केही गाडीहरू कोलकाताबाट हिडिसकेकाले थप मल चाडै नै नेपाल आइपुग्छ।

Classic Tech Desktop

पहिलो लट कोलकाता हुँदै नेपाल आइपुगेको हो। कोलकाता बन्दरगाहबाट बोराबन्दी गरेरमात्र नेपाल ल्याइएको जानकारी प्रवक्ता पोखरेलले दिए। नेपालले गरेको खरिद सम्झौताअनुसारको मल अब सबै नै बिस्तारै भित्रिनेछ, उनले भने।

त्यस्तै कम्पनीले ५ हजार मेट्रिक टन मल बिराटनगर भन्सारबाट पनि भित्र्याएको छ। उक्त नाकाबाट पनि मंगलबार बेलुका ६ वटा ट्रकमार्फत २ सय मेट्रिक टन मल भित्रिएको जानकारी पोखरेलले दिए।
विराटनगरबाट पनि क्रमिक रूपमा मल आइरहेको छ, उनले भने। नेपाल भित्रिने मल ठूलो परिमाणमा वीरगंज भन्सार भएरै आउनेछ।

कम्पनीले दोस्रो चरणका लागि पनि प्रक्रिया सुरु गरिसकेको जनाएको छ। कम्पनीका अनुसार दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन आयात गर्ने तयारी गरेको छ। तेस्रो चरणको मल आयात हुन भने केही समय लाग्ने भएको छ। कम्पनीले उक्त मल चैत लागेपछि मात्रै भित्रिने जनाएको छ।

वीरगंजमा मल रेलमार्फत आइपुगेको कृषि सामाग्रीका प्रदेश २ प्रबन्धक गोरखनाथ केसीले बताए। सुक्खा बन्दरगाहमा आइपुगेको रासायनिक मल भन्सार प्रक्रिया पूरा भई वितरणका लागि कम्पनीको गोदाममा ल्याउने तयारी भइरहेको छ, केसीले भने। युरिया मलमध्ये ५ हजार ६ सय मेट्रिक टन विराटनगर, ७ हजार ८ सय मेट्रिक टन भैरहवा र ९ हजार मेट्रिक टन वीरगंजबाट बिक्री वितरणको योजना छ।

कृषि सामाग्री कम्पनीले आयात गरेको मल कम्पनीको सातै प्रदेश अन्तर्गत ४१ वटा कार्यालयबाट बिक्री गर्ने जनाएको छ। कृषि मन्त्रालयले पहिलो लटमा आएको मल सुरुमा तराइका जिल्लाहरुमा बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो। खेतीपातीको सिजन भएकाले मलको आवश्यकता सबै जिल्लाहरुमा हुन्छ। त्यसैले मिलाएर देशभर नै बिक्री गर्ने प्रवक्ता पोखरेलले बताए।

हाल कृषि सामाग्रीसँग मलको स्टक बाँकी छ। कम्पनीका अनुसार हाल ३८ हजार मेट्रिक टन डीएपी, १० हजार मेट्रिक टन युरिया र ६ हजार ५ सय मेट्रिक टन पोटास स्टकमा छ।  यतिबेला जीटुजीमार्फत आयातित केही बिक्री गरेर बाँकी बर्खे धानका लागि स्टक राखिने भएको छ। हाल चैते धान लगाउने बेला भएको छ। चैतेभन्दा बर्खे धानको खेती बढी हुने भएकाले त्यस समयमा मलको बढी आवश्यकता पर्ने गरेको छ।

यसका लागि कम्पनीले तेस्रो चरणमा भित्र्याउने मलको आयात १० देखि १५ दिनभित्र प्रक्रिया अगाडि बढाउने भएको छ। गत असारमा धान रोप्ने समयमा बजारमा मल थिएन। किसान हैरान थिए। कम्पनीले यो वर्ष खेतीका बेला मलको अभाव हुन नदिने जनाएको छ।

साल्ट ट्रेडिङमार्फत आयात भएको चिनियाँ रासायनिक मल उपत्यका नआउने भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले तातोपानी भन्सार हुँदै ल्याइएको मल त्यहाँका स्थानीयलाई पहिले बिक्री वितरण गर्ने बताएका छन्।

चीनबाट ४ हजार टन मल आयात हुँदैछ। तातोपानी भन्सारमा गत आइतबारदेखि १० टनका दरले मल भित्रिरहेको छ। उक्त मल सिन्धुपाल्चोक, दोलखा, काभ्रे र नुवाकोट लगायतका जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ।

प्रतिकृया