मेलम्ची खानेपानी आयोजनाः पुनः गेट जडान अन्तिम चरणमा
प्रकाशित मिति
२०७७ पुष ६ गते, सोमबार ०८:११
सिन्धुपाल्चोक, मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ डिजाइनमा विगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो।
‘त्रुटि सच्याउँदै गेट जडानको काम अन्तिमतिर पुगेको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने। गेट रहने संरचनामा कंक्रिटिङ ढलान र फ्रेम बनाउने काम सकिएपछि फलामे गेट झुन्ड्याउने काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार आयोजनाले पुस दोस्रो सातासम्म सुरुङमा गेट राख्ने कार्य सक्ने अनुमान गरेको छ।
गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो।
घटनापछि खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि रहेको औंल्याएको थियो। समितिकै छानबिन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको छ। पहिला बाहिरबाटै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो। अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान भइरहेको छ ।
नागरिक दैनिकबाट साभार








प्रतिकृया