• १० असार २०८३, बुधबार
  • ४:४८ बिहान

मथिनपाका प्रमुख प्रशासकीय अधिकृत रिजाललाई मन्त्रालय फिर्ता पठाउने निर्णय

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०७:५०

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ । नगरपालिकामा आईतबार बसेको कार्यपालिका बैठकमा ११ जना सदस्य सहितको बहुमतले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको बैठक पछि आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट बजेट विनियोजना भई नियमित रुपमा उपभोक्ता समितिमार्फत भइरहेका कार्यहरु अबरोध पुर्याउन बजेट निकासा नगर्दा नगरपालिकाको बैठकले नै कारबाही गरी मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Kamana Sewa

उक्त कार्यपालिका बैठकले गरेको निर्णयमा भनिएको छ, ‘यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले नगरसभाबाट बजेट विनियोजन भई नियमित रुपमा उपभोक्ता समितिमार्फत भइरहेका कार्यहरुलाई महान चाँड वडा दसैंको अगाडि पनि रकम निकासा नगरी दुःख दिइएको, नगरको आन्तरिक राजनीतिमा सहभागी भई चलखेल गरेको, नगरपालिकाका दस्तावेजहरुलाई बद्िनयतपूर्वक बाहिर पठाइएको कारण मन्त्रालयमा फिर्ता गरी अर्को प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरियो ।’

Classic Tech Desktop

प्रशासकीय प्रमुख रिजालले नगरपालिकाका आन्तरिक दस्तावेजहरुलाई बदनियत पूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाएको, वडाध्यक्षहरुलाई व्यक्तिगत रुपमा फोन गर्दै मेयरलाई घेराबन्दीमा पारेको, काँग्रेसको दुई तिहाई बहुमत भए पनि किन सुतेर बसेको भनेर भड्काउने गरेपछि यसबारेमा बैठक मै छलफल भई फिर्ता गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका कर्मचारी, ईन्जिनियरहरुलाई रानीकोट लगायतका होटलमा लगेर मदिरासमेत सेवन गरी बिल तिर्न लगाउने गरेको, नगरपालिकालाई अनावश्यक सफ्टवेयर निर्माणमा चलखेल गरेको, गतवर्ष बेरुजु ठहर गर्दा पनि नगरपालिकाबाट थप मासिक रु. १८ हजार भत्ता खाने गरेको, दशैँ अगाडि उपभोक्तलाई भुक्तानी दिन चेक लेखिए अख्तियारमा मुद्धा हाल्छु भनेर लेखाका कर्मचारीलाई धम्की दिएको जानकारी पाए पछि आजको बैठकले रिजाललाई फिर्ता पठाउने निर्णय गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ । कोभिड–१९ को महामारीमा दुई महिनासम्म कार्यालय नै नआई नगरपालिकाका कागजातहरु घर मै मगाएर अनियमितता समेत गरेको पाईएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घर मै बसेर नगरपालिकाको काम गरेको बताउदै नगरपालिकामा उपभोक्ता समितिमा मार्फत काम गर्ने गरी कार्यबिधी नै नबनेकाले भुक्तानी नदिएको बताउनुभयो ।
नगरपालिकाको उक्त कार्यपालिका बैठकमा कूल १९ जना सदस्य मध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ जना कार्यपालिका सदस्यहरुले भने उपस्थिति जनाएका थिएनन् ।

प्रतिकृया