• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०१ बिहान

कोरोना संक्रमितको शल्यक्रिया

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०३:२९

वीरगञ्ज, कोरोना संक्रमित वीरगञ्ज–५ कि ६३ वर्षीया महिलाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । नारायणी अस्पताल भर्ना भएकी उनको आइतबार नै शल्यक्रिया गरिएको हो । एक्युट एपेन्डिसाइटिसका कारण बिरामीलाई निकै गाह्रो भएकाले जनरल सेवा दिइरहेको अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया गरिएको अस्पतालकी एक नर्सले जानकारी दिइन् ।

National Life

जिन एक्सपर्ट विधिबाट गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएपनि उनमा कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्न हाल नेसनल मेडिकल कलेजले बाबा होटलमा खोलेको आइसोलेसन मात्रै सञ्चालनमा छ । तर उसले डायलायसिस, शल्यक्रिया गर्नुपर्ने, गर्भवती तथा सुत्केरी महिलालाई राख्न नसक्ने जनाएको छ । यसले गर्दा पछिल्ला दिनमा यस्ता बिरामी समस्यामा पर्ने गरेका छन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले बाबा आइसोलेसनले कोरोनाका गम्भीर बिरामी, डायलायसिस गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी र शल्यक्रिया गर्नुपर्ने बिरामी नराखेका कारण जनरल अस्पतालमै सेवा दिनुपरेको बताए । आइतबार संक्रमितको शल्यक्रिया गरिएका कारण सोमबार नारायणी अस्पतालको सर्जिकल अपरेसन थिएटर बन्द छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘आज इमर्जेन्सी शल्यक्रिया गर्नुपर्दा बिरामीले महंगोमा निजीमा नै गर्नुपर्छ’ उनले भने ‘मन्त्रालय र अदालतले नारायणीलाई ननकोभिड बनाउन भन्छ, प्रशासनले कोभिड संक्रमितको जसरी भएपनि उपचार गराउनुपर्छ भन्छ । कसरी गर्ने ? एक जनाको ज्यान बचाउन दश जनाको ज्यान जोखिममा राख्नुपरेको छ ।’ केही दिनअघि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित दुईजना संक्रमितको डायलायसिस र एक जना कोरोना संक्रमित गर्भवतीको वीरगञ्ज हेल्थ केयरमा गरिएको थियो । रौतहटका एक संक्रमितलाई यहाँका अस्पतालले डायलायसिस गर्न नमानेपछि भरतपुर रिफर गरिएको थियो ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने भए पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने मेसु ठाकुरले बताए । ‘कोराना संक्रमित र जनरल दुवै सेवा नारायणीले नै दिने हो भने त्यसै अनुसार पूर्वाधार बनाउनुपर्छ । राज्यको अस्पताल भनेर मात्रै हुँदैन । आवश्यक बन्दोबस्त गरिदिनुपर्छ’ उनले भने ‘कोभिड र नन कोभिड बिरामीलाई एउटै अस्पतालमा उपचार सेवा दिँदा स्थिति बिग्रन सक्छ ।’

निर्णय गर्ने तर कार्यान्वयन नहुने

गत भदौ २१ गते नारायणी अस्पतालको नेतृत्वमा यहाँका निजी अस्पतालसमेतको उपस्थितिमा प्रसुति र आकस्मिक शल्यक्रिया आशाराम अस्पतालले गर्ने, कोरोना संक्रमित मिर्गौला रोगीको डायलायसिस वीरगञ्ज हेल्थ केयरले गर्ने सहमति भएको थियो । तर शल्यक्रियाका बिरामी घटेको र सञ्चालन खर्च समेत नउठ्ने भन्दै आशाराम अस्पतालले सम्झौता गर्न मानेन ।

गर्भवतीलाई अक्सिजन दिएर घरमै राखेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले केही समयका लागि वीरगञ्ज हेल्थ केयरले कोभिड संक्रमित मिर्गौला रोगीको डायलायसिस सेवा दिने, नारायणीले नै शल्यक्रिया सेवा दिने र बाबा आइसोलेसनले छिटो भन्दा छिटो आवश्यक प्रबन्ध मिलाउने निर्णय गर्‍यो । तर समस्या जस्ताको तस्तै छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङ उपचारसम्बन्धी सबै समस्या समाधानका लागि नारायणी अस्पतालले नेतृत्व लिनुपर्ने बताउँछन् । ‘निजी अस्पतालले गरेन भनेर हुँदैन, उनीहरु नाफा नोक्सानको हिसाब राख्छन् । तर सरकारी अस्पताल भएका कारण नारायणीले कुनैपनि सेवा दिन सक्दिन भन्न पाईदैन’ उनले भने ।

प्रतिकृया