कास्कीमा घर भ्वाङ पर्दा ५ परिवार बिचल्लीमा
प्रकाशित मिति
२०७७ आश्विन २ गते, शुक्रबार ०३:५८

कास्की, अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा परेका छन् ।
मानवीय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन् । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो भ्वाङ परेको स्थानीयले बताएका छन । मङ्गलवार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताइन् । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन् ।पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताए । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।
प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाड बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।
प्रतिकृया