• १४:०७ २०८० चैत्र १६ गते
  • 2:07 pm

पुग्यो सिलिचोङमा विद्युत्

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०७:५९

bidhut 1

खाँदबारी,अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो ।

विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा नं ५ याफुमा पहिलो चरण ६४ घरपरिवारमा विद्युत् बालिएको छ । याफुको वडा कार्यालयलगायतका चार सरकारी कार्यालय र अन्य ६० घरपरिवारमा विद्युत् बालिएको वडा नं ५ का अध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । वडा नं ५ का ३३६ परिवारलाई लक्षित गरी विद्युत् विस्तार गरिएको छ ।
विद्युत् विस्तारको ठेक्का लिएको ठेकेदारले समयमा काम गर्न नसकेका कारण अन्य घरमा विद्युत् बाल्न ढिलो भएको उहाँले जानकारी दिनुभयो । बाँकी घरमा पनि विद्युत् पु¥याउन ठेकेदारलाई द्रुतगतिमा काम गर्न लगाइएको र आगामी दशैँसम्ममा विद्युत् बालीसक्ने योजना रहेको जनाइएको छ ।

याफुमा विद्युत् बाल्नका लागि सम्पूर्ण सामग्री चिचिला गाउँपालिकाको खेवाटारबाट बोकेर लगिएको थियो । श्रमदानले सामान याफुगाउँ पु¥याउन तीन वर्षमा करिब एक हजार ५०० दिन श्रमदानमा खट्नुपरेको स्थानीय युवा बुद्धिमान कुलुङले जानकारी दिनुभयो । खेवाटारबाट ट्रान्सफर्मर, विद्युत् पोल र तारलगायतका सम्पूर्ण सामान करिब नौ किलोमिटरको दूरीमा याफु पु¥याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार हाइटेन्सनको लाइन १३४, शाखा प्रसारण लाइनको पोल १५३, ट्रान्सफर्मर एक र तार १२ बण्डल श्रमदानले बोकेरै पु¥याइएको थियो ।

सिलिचोङ गाउँपालिका वडा नं ४ मांतेवामा पनि विद्युत् विस्तारको काम भइरहेको छ । यहाँ पनि पोल,तार तथा ट्रान्सफर्मरलगायतका सामान ढुवानी गर्ने काम भइरहेको वडाध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिनुभयो । वडा नं ४ मा पनि दशैँभित्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् बालीसक्ने योजना रहेको छ । वडा नं ४ र ५ मा चिचिला गाउँपालिकाको नामा गाउँबाट केन्द्रीय प्रसारण लाइन सिलिचोङ भित्र्याइएको हो ।

विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका सङ्खुवासभाको दुई स्थानीय तहहरुमध्ये सिलिचोङमा केन्द्रीय प्रसारण लाइन पुगेको हो । अब गाउँपालिकाभरि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् बाल्ने चरणबद्ध योजना रहेको प्राधिकरण खाँदबारी वितरण केन्द्रले जनाएको छ । यस वर्ष वडा नं ४ र ५ मा विद्युत् बालिएको र आगामी वर्षदेखि वडा नं ३, २ र १ मा पनि विद्युत् विस्तार गर्दै लैजाने प्राधिकरणको योजना छ । अहिले सिलिचोङको ४ र ५ वडाबाहेकका अन्य वडामा स्थानीय खोलाबाट सानो क्षमताको लघुजलविद्युत् उत्पादन गरेर उपभोग गरिँदै आएको छ ।रासस

प्रतिकृया