• ११:३० २०८० चैत्र १६ गते
  • 11:30 am

साउन महिनाको महत्व

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०१:३३

snap3

उर्मिला दाहाल,

साउन महिना देवताहरुका पनि देवता महादेव अर्थात शिवलाई मनपर्ने महिना । जताततै हरियाली भरिने समय भएकोले प्रकृतिमा रमाउने महिना । मुख्य खेतीपाती सकेर सफासुग्घर बन्ने महिना । आध्यात्मिक रुपले महत्वपूर्ण महिना । महिनाहरुमा सबैभन्दा उत्तम महिनाको साथै हिन्दूका अधिकांश चाडवर्वहरु यसै महिनाबाट नै आउने भएकोले यो महिनाको विशेष महत्व रहेको छ । हुनपनि यस महिनामा पूजापाठ गर्नाले धेरैगुणा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

पौराणिय मान्यता अनुसार पनि साउन महिनालाई भगवान शिवको महिनाको रुपमा लिइन्छ । देवी पार्वतीले पनि यही महिनामा निराहार व्रत वसी भगवान् शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । शिव पुराण अनुसार समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषलाई यसै महिनामा शिवले पिई संसारलाई विषको प्रभावबाट बचाएको हुनाले मानिसहरुले खुसीका साथ पूजा र आराधना गरी व्रत बस्ने गरेको पाइन्छ । शिवको व्रत वस्नाले चिताएका कुराहरु पुग्ने, सौभाग्यवती हुने, सन्‍तानको उन्नति प्रगति हुन्छ भन्ने जनविश्वास छ । त्यसैले यो महिनामा विशेष गरी शिवको पूजा र आराधना गर्ने गरिन्छ । भगवान श्रीरामले पनि साउनमा शिवलिंगको पूजा गर्ने गरेको भन्ने प्रशंग शिव महापुराणमा आउँछ ।

यो महिना गाउँ होस् या सहर, धनि होस् या गरिब सबैका हात रङ्गी–विरङ्गी बनेका देखिन्छन् । अझै पछिल्ला वर्षहरुमा त झन हरियो रङ्को बहार नै आउन थालेको छ । हरियो रंग प्रकृति र आत्मीयताको प्रतीक हो । यो रङ्गलाई प्रकृतिको सम्मानका रुपमा पनि लिन सकिन्छ । किनकी प्रकृति पनि साउन महिनामा हरीयालीयुक्त हुन्छिन् । यसका साथै हरियो रंगलाई प्रेम, प्रशन्नता, उर्वर शक्ति र खुशीको प्रतिक मानिन्छ । त्यसैले हरियो चुरा, हरियो पोते, हरियो लुगाले यो महिनाभर प्रभुत्व जमाउन सफल बनेको छ । खाशगरी यो महिना महिलाहरुले आफ्ना साथी संगीहरुलाई हरियो चुरा, पोते आदि उपहार दिई एकअर्कासँग माया साटासाट गर्ने महिना नै बनेको छ आजभोलि । धेरैले धार्मिक विश्वासमा यसो गर्ने गरेका छन् भने कतिपयले फेसनका रुपमा पनि गर्ने गरेको पाइन्छ । यसका साथै हातमा जति गाढा मेहन्दी लगायो उती नै श्रीमान्को माया पाइन्छ भन्ने जनविश्वास रहेकोले मेहन्दी लगाउने परम्परा सुरु भएपनि हाल फेसनको रुपमा यो प्रचलन विस्तार हुँदै आएको देखिन्छ । मेहन्दी लगाउने परम्परा हाम्रो नभएपनि यसले बच्चादेखि बृद्दासम्मलाई प्रभाव पारेको देखिन्छ ।

हिन्दू धर्माशास्त्रहरुमा साउन महिनालाई महिलाहरुको शक्तिको महिनाको रुपमा व्याख्या गरिएको पाइन्छ । हुनपनि यस महिनामा हिन्दू महिलाहरु भगवान् शिवको पूजा आराधना गरी व्रत वस्ने गर्दछन् । यो महिनाभर सात्विक खाना खाई मुख्यत सोमबार ब्रत वस्ने गर्दछन् । साउनको सोमबारको विशेष महत्व छ । पहिलो सोमबारको व्रतले जीवनमा सफलता प्राप्त हुने विश्वास गरिन्छ भने दोस्रो सोमबारको व्रतले व्यवसायिक सफलता प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै तेस्रो सोमबारको व्रतले मनोकामना पूर्ण हुने विश्वास गरिन्छ भने चौथो सोमबारको व्रतले मुक्तिको लागि मार्ग खुल्ने विश्वास गरिन्छ। त्यस्तै पाँचौ सोमबारको व्रतले भगवानको समिप बस्न पाइन्छ भन्ने विश्वास रहेको छ । त्यसैले साउन महिनामा शिव र पार्वतीको विशेष पूजा आराधना हुने गरेको छ । यसरी पूजा गर्नाले दाम्पत्य जीवनमा प्रेम तथा सद्भाव वृद्धि हुने धार्मिक मान्यता रहिआएको देखिन्छ ।

साउन महिना धार्मिकरुपमा मात्र होइन सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । यसै महिनादेखि दिन घट्दै जाने र रात लामो हुने गर्दछ । यस महिनाको सुरुको दिन आजबाट नै सूर्य दक्षिणतिर भएर हिङ्ने गर्दछ । पहिलो दिन आज कुरिलो, मच्छिनो, कुकुरडाइनो, भलायो लगायतका वनस्पतिहरु विहानै घरमा ल्याई साँझमा लुतो फाल्ने चलन पनि रहेको छ । यसबाट सो वर्षभरी कुनै पनि प्रकारको रोगव्याधी नलाग्ने विश्वास गरिन्छ । आजकै दिन विभिन्न जातजातिहरुले प्रकृतिको पूजा पनि गर्ने गर्दछन् । साथै छोरीचेलीहरुलाई बोलाएर ख्वाउने प्रचलन पनि हामीमाझ विगतदेखि नै रहिआएको पाइन्छ । आर्थिक वर्ष पनि यसै दिन सुरु हुने हुनाले आर्थिक कारोवार गर्नेहरुको लागि पनि यो विशेष महत्वको दिन बन्न पुगेको छ । यस महिनामा नागपञ्चमी, मंगलचौथी, जनैपूर्णिमा, गाईजात्रा आदि जस्ता पर्वहरु समेत पर्दछन् । त्यसैले शास्त्रहरुमा साउनलाई सबैभन्दा उत्तम महिना मानिएको पाइन्छ ।
हिन्दू संस्कृति विश्वकै नमुना संस्कृतिको रुपमा रहेको देखिन्छ । विश्वका विकशित भन्ने देशहरुले समेत हाम्रो संस्कृतिलाई महत्व दिन थालेका छन् । आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । हामीले परापूर्व कालदेखि मान्दै आएको सनातन धर्मलाई मान्नुपर्छ । हुनपनि धर्म र संस्कृतिले मानिसलाई पवित्र बनाउँछ । यसबाट सत्मार्गमा अग्रसर बन्न सहयोग समेत पुग्दछ । तरपनि यसमा आजभोलि विकृतिहरु देखा पर्न थालेका छन् । त्यसैले यसप्रति सचेत भई अगाडि बढ्न जरुरी छ ।

 

प्रतिकृया