• १३ साउन २०८३, बुधबार
  • ९:११ बिहान

आजदेखि साझा यातायात सञ्चालन हुँदै, यस्तो २६ बस चल्ने रूट

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०७:२३

 

काठमाडौं । साझा यातायातले आजदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ।

Kamana Sewa

साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। आजदेखि साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।

Classic Tech Desktop

कोरोना संक्रमणको जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पूराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ।

‘लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्,’ पाण्डेयले भने, ‘साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिनेछ।’

यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ।

यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ। बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएको पाण्डेयले जानकारी दिए।

यात्रुको चाप हेरेर आवश्यकता अनुसार रुटहरुमा बस थप्दै लैजाने योजना साझाले बनाएको छ। चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो।

यी हुन् साझा यातायातका बस सञ्चालन हुने रूट

.लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
.लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
.गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
.लामाटार, लगनखेल हुँदै रत्नपार्क
.लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
.लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
.रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
.रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

प्रतिकृया