• १२ साउन २०८३, मंगलबार
  • ६:०३ बेलुका

प्रेस स्वतन्त्रतासम्बन्धी ७ बुँदे मागसहित पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०४:२५

१२ साउन २०८३ काठमाडौं – नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी सातबुँदे माग राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत पठाइएको हो।

महासंघले निजी सञ्चार माध्यममा सरकारी विज्ञापन वितरणसम्बन्धी सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पार्ने नीति र अभ्यासको पुनरावलोकन गर्दै संवैधानिक मर्मअनुसार सुधार गर्न आग्रह गरिएको छ।

Kamana Sewa

ज्ञापनपत्रमा सञ्चारसम्बन्धी कानुन, नीति तथा संस्थागत संरचनाको शीघ्र निर्माण र संशोधन, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारको श्रम अधिकार, सामाजिक सुरक्षा र बीमा सुनिश्चित गर्न तथा साना र सामुदायिक सञ्चारमाध्यमको संरक्षणका लागि विशेष नीति अवलम्बन गर्नुपर्ने माग पनि समेटिएको छ।

Classic Tech Desktop

यस्तै सञ्चारकर्मीमाथि हुने धम्की, दबाब र आक्रमणका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा डिजिटल सञ्चार र कृत्रिम बुद्धिमत्ता (एआई) का चुनौतीलाई सम्बोधन गर्ने आधुनिक सञ्चार नीति तर्जुमा गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

महासंघले सरकारसँग टकराव नभई संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सहकार्य र संवादको पक्षमा रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा उठाइएका विषयमा सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया