• ७ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

बाढीको जोखिममा बेल्हीगाउँ

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार १२:०४

 

National Life

काठमाडौं । केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ ।

चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको र १२/१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउछन् ।

धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गरे ।

बलानखोलाले यादवको घर, इनार लगेपछि अन्यत्र सर्नुभएको छ । खोलाकै कारण साविकको बेल्ही गाविस–१ का ५०र६० घर बसाइँ सरेको यादवले बताए ।

खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इञ्जीनियर नवीनकुमार झाले बताए ।

वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने झाले बताए ।

चुरे जङ्गलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ ।

वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत हुँदै गएको छ ।

 

प्रतिकृया