प्रचण्ड, खनाल र नेपालले राष्ट्रपतिसँग भने– ‘महाअभियोग लगाउने कुनै छलफल भएको छैन’
प्रकाशित मिति
२०७७ असार २१ गते, आईतवार ०३:०४
काठमाडौं, नेकपा शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर महाअभियोग लगाउने कुनै तयारी नगरेको बताएका छन्। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका थिए।

भेटमा नेताहरुले राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे आफूहरुले छलफल नै नगरेको स्पष्ट पारेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिलाई हटाउन षड्यन्त्र गरेको बताएपछि उनीहरुले उक्त विषयमा स्पष्ट पारेका हुन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार पार्टीको आन्तरिक विवादमा राष्ट्रपतिलाई तान्ने काम आफूबाट नभएको नेताहरुले बताएका थिए।
राष्ट्रपति भण्डारीलाई पार्टीको यो विवादको दृष्यमा नआउन समेत आग्रह गरेका छन्। राष्ट्रपति भण्डारीसँग नेताहरूले झन्डै ४५ मिनेट कुराकानी गरेका थिए। उनीहरुले पार्टीको आन्तरिक विवाद छलफलबाटै मिलाउनु पर्ने भएकाले राष्ट्रपतिलाई विवादमा पार्ने कार्य आफूहरुबाट नहुने बताए। राष्ट्रपतिले पनि सोही अनुसारको भूमिका निभाउने अपेक्षा उनीहरुले भेटमा व्यक्त गरेका छन्।




प्रतिकृया