• ७ असोज २०८३, बुधबार
  • १०ः३६ बिहान

लकडाउनमा घरेलु हिंसा बढ्दो, साढे ६ सय महिलाले गरे आत्महत्या

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ११:५०

 

National Life

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न यतिबेला मुलुक नै लकडाउनमा छ । कोरोना नियन्त्रण प्रयासमा रहेका वेला घरेलु तथा महिला हिंसाका घटना भने बढेको छ ।

लकडाउनको अवधिमा देशभर महिलाको आत्महत्याका घटना बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लकडाउन भएदेखि ८३औँ दिनसम्ममा ६४८ जना महिलाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी महिलाको आत्महत्याको घटना प्रदेश २ मा भएको देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीको तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ११०, प्रदेश नम्बर २ मा १२१, बाग्मती प्रदेशमा ८८ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ७६, प्रदेश नम्बर ६ मा ११७, कर्णाली प्रदेशमा ३३, सुदूरपश्चिममा ७२ जना महिलाले आत्महत्या गरेका छन् ।

काठमाडौँ उपत्यकाभित्र पनि आत्महत्याको घटना बढेको छ । उपत्यकाका तीन जिल्लामा लकडाउन अवधिभर ३१ जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।

रिपोर्ट प्राप्त भए पनि के कारण ती महिलाले आत्महत्या गरे भन्ने अहिले खुलाउन नमिल्ने नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने । ‘हामीलाई अंकमात्र प्राप्त हुन्छ,’ जोशीले भने, मुद्दा दर्ता भएपछि अनुसन्धान हुन्छ, अनिमात्र आत्महत्याको कारण थाहा हुने जोशीले भन ।

प्रहरी प्रवक्ता जोशीले दिएको जानकारी अनुसार लकडाउन अवधिमा देशभरका १ हजार ६८४ महिलालमाथि हिंसाका घटना भएको रिपोर्ट प्राप्त भएको छ ।

जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बालयौन दुराचार, अप्राकृतिक मैथुन लगायतका घटनाका रहेका छन् । जोशीका अनुसार उल्लिखित घटनामध्ये ५२० जना महिलाले उजुरी दर्ता गराएका छन् ।

लकडाउनको हालसम्मको अवधिमा सबैभन्दा बढी महिला हिंसाका घटना प्रदेश २ मा भएको रिपोर्ट प्राप्त भएको छ । सबैभन्दा कम घटना भएको प्रदेश कर्णाली रहेको जनाएका छन् ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा २५७, प्रदेश २ मा ३०४ र बाग्मती प्रदेशमा २५० वटा महिला हिंसाका घटनाको रिपोर्ट प्राप्त भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १७१, प्रदेश ५ मा २७६, कर्णाली प्रदेशमा ९१ र सुदूरपश्चिम प्रदेशमा २१६ वटा महिला हिंसाका घटना भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लामा लकडाउनको समयमा घरेलु हिंसा तथा महिला हिंसा बढेको देखिन्छ । लकडाउनको ८३औँ दिनसम्ममा उपत्यकाभित्र १२२ वटा घटना भएको रिपोर्ट छ ।

प्रतिकृया