पृथ्वीको वातावरण बिग्रियो, नसपार्ने
प्रकाशित मिति
२०७७ जेष्ठ २३ गते, शुक्रबार ०१:२५
लक्ष्मण प्रसाद खतिवडा
पृथ्वीको विग्रदो वातावरण संरक्षणका लागि विश्वव्यापी जागरण फैलाउने उद्धेश्यले सन् १९७३ देखि हरेक वर्ष जून ५ मा संसारभर विश्व वातावरण दिवस मनाइन्छ । नेपाल सरकारले पनि सातौ योजनादेखि वातावरण संरक्षणलाई ध्यान दिएको देखिन्छ । नेपाल अधिराज्यको संविधान २०७२ मा मौलिक हक अन्तर्गत हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ । हाल वातावरण संरक्षणका लागि वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४, वन ऐन २०४९, भूउपयोग नीति २०७२ कार्यान्वयनमा छन् । तर पनि वातावरण संरक्षणको लागि आशातित प्रगति हुन सकेको देखिदैन ।
मानवजाति, हावापानी, बोटविरुवा, पशुपंक्षी सबै मिलेर बनेको जीवनशैलीलाई वातावरण भनिन्छ । वातावरण संरक्षण गुर्नु हामी सबैको कर्तव्य हो । वातावरण स्वच्छ रहे मात्र हामी बाँच्न सक्छौं । सन्तुलित र स्वच्छ वातावरणले नै मानव जातिलाई स्वच्छ, सुखी र खुसी बनाउँदछ । आज विश्वमानै वातावरणीय विनास दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । जसको कारणले कति जीवजन्तु तथा वनस्पति लोप भएका छन् भने केही लोप हुने अवस्थामा समेत पुगेका छन् । यसको साथै मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वातावरण दिनहुँ बिग्रदै जाँदा मानव अस्तित्व नै संकटमा पर्ने सम्भावना देखिन्छ ।
बढ्दो जनसंख्या, तिब्र बसाइसराई, सहरीकरण, वन फडानी, प्राकृतिक सम्पदाको अत्याधिक दोहन, आणविक हातहतियारको बढ्दो प्रयोग तथा औधोगिकरणका कारणले वातावरणमा समस्या आइरहेको छ । जसबाट आज विश्वमा मरुभूमिकरण, अतिवृष्टि, ओजोन तह नष्ठ, बाढीपहिरो, भूक्षय, अम्लीय वर्षा आदि समस्याहरु देखिएका छन् । अव्यवस्थित सहरीकरणको कारण गगनचुम्बी कंक्रिटका घरहरुको निर्माण भै प्रकृतिनै कुरुप देखिन थालेको छ । यसका साथै प्लाष्टिकको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न नसक्दा अनि जथाभावी फोहोरका डङ्गुरहरु फाल्दा विभिन्न किसिमका समस्याहरु निम्तिरहेका छन् । आज हामीले पिउने पानी मात्र होइन, स्वास फेर्ने हावा, खाने खाद्यान्न समेत प्रदूषित भैसकेका छन् । आज विश्वभर वायु प्रदुषण बढेको कारण दम, खोकी लगायतका स्वासप्रश्वास सम्बन्धि रोगका विरामीहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।
मानवजाति जन्मदेखि मृत्यु सम्म कुनै न कुनै रुपमा प्रकृतिमा निर्भर रहनुपर्दछ । यही प्रकृतिले जीवनका लागि आवश्यक स्रोतहरु उपलव्ध गराउँछ । तर विकासको होडबाजीमा वातावरणीय पक्षलाई ध्यान नदिँदा मानवीय जीवन नै ठूलो जोखिममा परेको छ । जनसंख्याको तिब्र बृद्धि, मानव वस्तीको अव्यवस्थित विस्तार तथा विकासका अनियन्त्रित गतिविधिहरुका कारण हिजोआज वातावरण विनास भैरहेको छ । जसबाट जल, वायु, भूमि प्रदुषण बढिरहेको छ । तर पनि हामीले वातावरण संरक्षणका लागि कुनै ठोस कार्य गर्न सकेका छैनौं । केही मात्रामा सरसफाइ तथा वृक्षारोपणका कार्यक्रमहरु भए पनि नियमित हुन सकेका छैनन् । अझै पनि प्लाष्टिकजन्य फोहोरलाई निरुत्साहित गर्न सकेका छैनौं ।
वातावरण र प्राणी एक अर्काका पूरक हौं । एक विना अर्कोको अस्तित्व यहाँ रहदैन । वातावरण संरक्षण गर्न सके मात्र हाम्रो अस्तित्व जोगाउन सकिन्छ । दीगो विकासका लागि समेत वातावरणको संरक्षण आवश्यक हुन्छ । विश्वमा आज जुन गतिले विकास निर्माणका कार्यहरु तिब्रगतिमा भइरहेका छन् सोही गतिमा वातावरणको विनाश पनि भइरहेको छ । वातावरणमा मानव समुदायबाट भएको निर्दयी र निर्मम आक्रमण एवं अतिक्रमणबाट सन्तुलन खल्बलिएको छ । अत वातावरण सन्तुलन गर्नका लागि वातावरणीय प्रदुषण न्यूनीकरण गर्न जरुरी छ । यसको लागि वन सम्पदाको सुरक्षा, नाङ्गा पाखाहरुमा वृक्षारोपण, व्यवस्थित बसोबास, प्राकृतिक सम्पदाहरुको मितव्ययी प्रयोग, वातावरणमैत्री विकास निर्माण गर्न जरुरी छ । वातावरण संरक्षण भए हामी सुरक्षित हुने हुनाले हामी सबै मिलेर वातावरण संरक्षण गरौं ।
प्रतिकृया