सञ्जालका सकारात्मक कुरा
प्रकाशित मिति
२०७७ बैशाख ३१ गते, बुधबार ०१:३०
उर्मिला दाहाल
सामाजिक सञ्जाल सूचना र तथ्यांकका खानी हुन् । मनको भावना पोख्ने माध्यम, विविध सूचनाको स्रोत, आ(आफ्ना अनुभवहरु साटासाट गर्ने स्थान एवं मनको कुण्ठा पोख्ने माध्यम पनि सामाजिक सञ्जाल नै हो । सामाजिक सञ्जाल आज संसारभरका मानिसहरुलाई जोड्ने एक माध्यम बनेको छ । रमाइला क्षणमात्र होइन, दुःख पिर, पिडा पोख्ने स्थान पनि बनेको छ । आज राजनितिक कर्मीहरुलाई राजनितिक बहस गर्ने, शिक्षक तथा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गर्ने गराउने एवं कलाकर्मीहरुलाई कला प्रदर्शन गर्ने ठाउँ बनेको छ यो । जीवनको अभिन्न अङ्ग बनिसकेको यो विविध जानकारी आदानप्रदान गर्न सजिलो र भरपर्दो माध्यम बन्न पुगेको छ । यतिमात्र कहाँ हो र ? विविध मनोरञ्जनको माध्यम बन्न पुगेको सामाजिक सञ्जाल आज पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, राजनेता, कलाकर्मी, शिक्षक, विद्यार्थी सबैको प्रिय बन्न पुगेको छ ।

विश्वलाई नै एक सानो गाउँ बनाइदिने क्षमता छ सामाजिक सञ्जालको । हामीले एक क्लिकमा विश्वभरका गतिविधिहरु थाहा पाउन सकेका छौं । आज हामी सानो कोठामा बसेर संसार नियाल्न सक्ने भएका छौं यसैको माध्यमबाट । हामीलाई एउटा सानो कोठामा साँघुर्याइदिएको छ यसले । बैदेशिक रोजगारमा रहेका आफन्तसँग कुरा गर्न घण्टौं लाइनमा बसी मुस्किलले आफन्तसँग फोन गरी खबर जान्ने हामीहरुलाई यसले आज नजिक बनाइदिएको छ । यसबाट ज्ञान विज्ञानका विविध कुराहरु जान्न पाएका छौं । जीवनकै अभिन्न अंगजस्तै बनेको यो आज खबर आदान प्रदान र मित्रताको निम्ति वरदान नै भएको छ । त्यसैले के बालक, के युवा, के बृद्ध सबैको लागि प्रिय बन्न पुगेको छ यो ।

आजको युग सूचना र प्रविधिको युग । सूचना प्रविधिको कारण संसार एउटा सानो गाउँ बन्न पुगेको छ । यसकै कारण संसारका सम्पूर्ण गतिविधि र घटनाक्रम एकै थलोमा बसेर थाहा पाउन सक्ने भएका छौं हामी । आज घर, विद्यालय, कार्यालय सबैतिर सामाजिक सञ्जालले एकछत्र राज जमाइसकेको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युव जस्ता सामाजिक सञ्जालबाट विद्यार्थीहरुले जीवनोपयोगी ज्ञान प्राप्त गरिरहेका छन् । नयाँ ज्ञान प्राप्त गर्न मात्र होइन पकाउन, खान, लगाउन, हिड्न समेत सिकाएको छ यसले । त्यसैले युवावर्गहरु यसमानै बढी झुम्मिएका देखिन्छन् । के गरिब, के धनी, के विकसित, के अविकसित सबै राष्ट्रका मानिसहरुका लागि जीवनको एक अभिन्न अंग बनिसकेको छ यो । खबरहरुको आदान प्रदान गर्न सजिलो भएरनै होला हालको विषम परिस्थितिमा पनि यसले मानव जातिलाई गुन लगाएकै छ । मित्रतालाई विस्तार गरिदिएकै छ । व्यापार व्यवसाय विस्तारका लागि सहयोग गरिदिएकै छ । मनोरञ्जन र समय कटाउने माध्यम बनेको यो आज दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्नेदेखि उद्योगपति, व्यापारी, कर्मचारी सबैको प्रिय बन्न पुगेको छ ।
विश्वव्यापी रुपमा इन्टरनेटको पहुँच र स्मार्ट फोनको बढ्दो प्रयोगले सामाजिक सञ्जालमा प्रवेश गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढिरहेका छन् । विश्व एक ग्लोबल भिलेजको रुपमा विकसित भएको छ यसैको कारणले । त्यसैले होला हाम्रो देशमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको । आज यो व्यक्तिगत पीर, व्यथा, खुशी साट्ने थलो मात्र होइन बौद्धिक बहस गर्ने चौतारीसमेत बनेको छ । मानिसहरु यसको प्रयोगले गर्दा जाँगरिला, सिर्जनशील र रचनात्मक बन्दै गएका छन् । व्यक्ति, स्थान, धर्म अनुसार फरक फरक तरिकाले प्रयोग भएपनि यसमार्फत धेरै सामाजिक कार्यहरुपनि भएका छन् । सहयोग माग्न र दिन सजिलो बनाइदिएको छ यसले । पछिल्लो समयमा त यसको प्रयोगको बाढी नै आएको छ । कोही फेसबुक चलाउँलान्, कोही ट्वीटर कोही इन्स्टाग्राम, त कोही भाइवर वा कोही अन्य । जसरी भएपनि यसले मानव जातिलाई एकै स्थानमा समेटी सहयोग गरिरहेकै छ ।




प्रतिकृया