कोरोनाबाट नेपालले सिक्नुपर्ने पाठ
प्रकाशित मिति
२०७७ बैशाख १७ गते, बुधबार ०४:१९
लक्ष्मण प्रसाद खतिवडा
विभिन्न समयमा विश्वभर महामारी नफैलिएको होइन । कुनै बेला प्राकृतिक विपत् त, कुनै बेला मानव सिर्जित महामारीका कारण मानवको जनजीवन कष्टकर बनेकै हो । कहिले प्लेग त कहिले ब्ल्याकडेथ, कहिले इबोला त कहिले स्वाइनफ्लु आदिको कारणले जनजीवनलाई प्रभावित पारेकै हो । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणले आतंक मच्चाइरहेको छ । सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट उद्गम भएको यो भाइरसले हाल विश्वको अधिकांश देशलाई प्रभाव पारिरहेको छ । महामारीको रुपमा फैलिएको यस भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दो गतिमा छ । यसबाट बच्न विश्वका शक्तिशाली देशहरुले औषधी तथा खोप बनाउने प्रयासहरु गरे तापनि ती पूर्णत सफल हुन सकेका छैनन् । जसले गर्दा मानिसहरुको जनजीवन झन कष्ठकर बन्दै गएको छ ।
कोरोना भाइरस संसारभर तिब्र गतिमा फैलिरहेको कारण मानिसहरु स्वनजरबन्दमा परेका छन्। परदेशमा रोजगारीका सिलसिलामा बिदेशिएका नेपालीहरु समेत आफ्नो देश फर्कन पाएका छैनन् । यो महामारी नियन्त्रण गर्न नेपालमा चैत्र ११ गतेदेखि सुरु भएको बन्दाबन्दीले शहरमा रहेका श्रमिकहरु कामको अभावमा माम खान पाएका छैनन् भने गाउँमा रहेका किसानहरुलाई पाकेको बाली भित्र्याउन तथा नयाँ बाली लगाउन समस्या परेको छ । यसले एकातिर सामाजिक दूरी बढाएको छ भने अर्कोतिर मान्छेले मान्छेलाई देख्दा पनि असुरक्षित महसुस गर्नु परेको अवस्था सृजना भएको छ ।
कोरोना भाइरसको कारणले विश्वव्यापी रुपमा भय त्रास र शंका मात्र देखिन्छ । सधै थप संक्रमित तथा मानव मृत्युका समाचारले मानिसको मन त्रसित बन्न पुगेको छ । यसको कारणले रोजगार गन्तव्य मुलुक धराशायी भई अर्बौ रोजगार गुम्ने निश्चित देखिन्छ । अर्थतन्त्रको करिब एक चौथाइ हिस्सा धानेको रेमिट्यान्समा आधारित हाम्रो जस्तो मुलुकको अर्थतन्त्रको लागि त रोजगार गन्तव्य मुलुक नै धराशायी बनेपछि हामीलाई नराम्ररी पिरोल्ने नै छ ।
कृषिकर्म नगरी खेतबारी बाझो राखी विदेशी भूमिमा जान रुचाउने हामी जस्तो देशको जनताको लागि गन्तव्य मुलुकले रोगजारी कटौती गरेमा हामीलाई थप समस्या हुने निश्चित छ । त्यसैले रोगगारी गुमेको यी युवा समुहलाई राज्यले कृषि कर्ममा लगाउन सके हामीलाई आत्मनिर्भर हुने बाटो खुल्ने देखिन्छ । अब राष्ट्रिय अर्थतन्त्र धराशायी हुने अवस्था आउन नदिन बेलैमा राज्यले स्वनिर्भरता उन्मुख आर्थिक निति अवलम्बन गर्नुपर्ने देखिन्छ । जसको लागि हाम्रा बाझो खेत तथा बारीहरुमा खेती गर्न उत्प्रेरित गर्ने निति राज्यले बेलैमा ल्याउनुपर्छ । अत कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई उकास्न तथा बेरोजगारहरुलाई आफ्नो देशमा नै रोजगार बनाउन राज्यले कृषि क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ । हुन पनि कृषिजन्य उत्पादनमा बेरोजगारलाई लगाउन सके हाम्रो जस्तो देशले पक्कै काँचुली फेर्नेछ ।
महामारीबाट सबैभन्दा बढी पिडित गरिब बर्ग नै हुने हुनाले राज्यले उनीहरुको स्वास्थ्य अधिकार सुनिश्चित गराउँनुपर्छ । हालको महामारीबाट पाठ सिक्दै प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न स्वास्थ्यसंस्थाको प्रबन्ध राज्यले गर्नुपर्दछ । यति मात्र कहाँ हो र कतिपय स्वास्थ्य सँस्था तथा स्वास्थ्यकर्मीहरु उपचारमा सरिक नभएको समेत हाल देखिएकोले यो समस्या समाधानको लागि राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण धेरै फैलिएको छैन । यदि यसको संक्रमण द्रुत गतिमा फैलियो भने स्थिति अझै भयाभव हुन्छ । त्यसैले परिक्षणको दायरा बनाउँदै हरेक स्थानीय तहमा सुविधासम्पन्न ल्याबसहितको स्वास्थ्य संस्थाको जग हाल्नैपर्दछ ।






प्रतिकृया