• ७ असोज २०८३, बुधबार
  • १२ः१५ दिउँसो

अण्डा बिक्री नहुँदा कञ्चनपुरका व्यवसायी चिन्तित

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०४:२१

कञ्चनपुर, कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका लेयर्सजातका कुखुरापालकले उत्पादित अण्डा बेच्न पाएका छैनन्। उत्पादित अण्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अण्डा थन्क्याउँदै आएका छन्। धेरै समयसम्म उत्पादित अण्डालाई फार्ममै भण्डारण गर्दा बिग्रिने बताइएको छ। अण्डा राख्नका लागि वातानुकुलित भण्डार गृह नहुँदा व्यवसायीलाई लगानी खेर जाने चिन्ताले सताएको छ।

National Life

अण्डाका लागि पालिने सो जातका कुखुरालाई चारो खुवाउने र हेरचाह गर्नमै धेरै रकम खर्च हुन थालेको व्यवसायी धीरेन्द्र साउदले जानकारी दिए। उनले भने, “फार्ममा पालिएका दुई हजार कुखुराले अण्डा दिन शुरु गरेका थिए। लकडाउन भएपछि उत्पादन भएका अण्डा बेच्न पाएका छैनौँ।” कुखुरा पाल्नका लागि १५ लाख लगानी गरी फार्म सञ्चालन गरेका व्यवसायी साउदले अण्डा बेच्न नपाएपछि बिग्रिन शुरु भएकाले नष्ट गर्नुबाहेक अर्को विकल्प नभएको गुनासो गरे।

उत्पादित ३०० पेटी छ लाख ३० हजार मूल्यका अण्डा बिक्री हुन नपाएको उनको भनाइ छ। अण्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको उनले बताए। अण्डाका लागि पाल्दै आएको सो जातका कुुखुरापालनका लागि एक दिनमै १२ हजार मूल्यबराबरको चारो, औषधि, विद्युत्लगायतमा खर्च हुने जनाइएको छ। नगरपालिकाको वडा नं ११ का कुखुरापालक जयबहादुर ऐरले भने,“ फार्ममा पालिएका दुई हजार कुखुरापालनमा दैनिक खर्च बढ्दै गएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्ने चिन्ता छ। उत्पादन लागतकै मूल्यमा अण्डा बेच्न खोजे पनि खरिदकर्ता पाउन सकेका छैनौँ। बैंकबाट ऋण निकालेर गरिएको व्यवसाय धरासायी हुन थालेको छ। बैंकबाट लिएको ऋण तिर्न कुन स्रोतबाट पैसा जुटाउने पिरलो बढेको छ”, उनले भने।

कोरोना भाइरसको सङ्क्रमण रोक्ने कार्य र सजगता अपनाउनु पर्ने कुराहरु ठिकै हुन् अर्का लेयर्स कुखुरापालक रेवन चौधरीले भने “ठूलो लगानी गरेर व्यवसाय थालेका व्यवसायीले उत्पादन गरेका अण्डालगायत बेच्नका लागि वातावरणसमेत कायम गरिनुपर्छ।”

“लकडाउनका कारण फार्ममा पालिएका कुखुराका लागि नत चारो ल्याउन पाएका छौँ। उत्पादन भएका अण्डा बिक्री हुन पाएको छैन। कुखुरा चारोका अभावमा फार्ममै मर्ने चिन्ता एकातर्फ छ। अर्कोतर्फ उत्पादन भएका अण्डा बिग्रेर लगानी नै खेर जाने पिरलो छ”, उनले भने।

चौधरीले फार्ममा एक हजार लेयर्सजातका अण्डा दिने कुखुरा पालेका छन्। व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका व्यवसायीले अण्डा बेच्ने र चारोको व्यवस्था मिलाइदिन स्थानीय तह र स्थानीय प्रशासनसँग आग्रहसमेत गरेका छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कुखुरालगायतका कृषि तथा पशुजन्य उत्पादन व्यावसायिक रुपमा गरिरहेका किसानले भोग्नुपरेका समस्याबारे स्थानीय तहमार्फत अध्ययन कार्य थालेको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टले बताए।

स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका त्यस प्रकारका उद्यमको अभिलेख राखी सम्भावित क्षतिको यथार्थपरक विवरण उपलब्ध गराउन भनिएकाले विवरण सङ्कलन शुरु गरिएको उनले बताए। नगरपालिकाभित्रका कृषि तथा पशुपक्षी उद्यमको लकडाउन अवधिभरमा भएको क्षतिको विवरण प्रहरी मुचुल्कासहित सिफारिससाथ नगरपालिकाको पशु विकास शाखामा पेश गर्न भनेका छौँ उनले भने, “यसबारे किसानलाई जानकारी दिएका छौँ।”

प्रतिकृया