निको भएर घर फर्केकी संक्रमित युवती भन्छिन् ‘सेल्फ आइसोलेसन नै प्रमुख कुरा रहेछ, आत्मबल दह्रो बनाउनुहोला’
प्रकाशित मिति
२०७७ बैशाख ६ गते, शनिबार ०४:३१
काठमाडौं, कोभिड–१९ लाई जितेर २७ दिनपछि अस्पतालबाट घर फर्केकी प्रसिद्धि श्रेष्ठले आफूले सेल्फ आइसोलेसन नै कोभिड–१९ विरुद्धको सबभन्दा ठूलो हतियार भएको बताउनु भएको छ । आज शुक्रराज सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएपछि उहाँले आफूले सेल्फ आइसोलेसनको महत्व बल्ल थाहा पाएको बताउनुभयो ।
“सेल्फ आइसोलेसन नै यसको प्रमुख कुरा रहेछ”, उहाँले डिस्चार्ज हुने बेला नेपाल टेलिभिजनसँगको कुराकानीमा भन्नुभएको छ, “म फ्रान्सबाट आउनसाथ सेल्फ आइसोलेसनमा नबसेको भए मबाट परिवारमा फैलिन्थ्यो, मेरो परिवारबाट अरुमा फैलिन्थ्यो। तर, त्यो केही हुन पाएन।”
उहाँले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य सेल्फ आादइसोलेसनमा बस्न र जाँच गर्नसमेत आग्रह गर्नुभयो । जाँचको सुविधा नभएका ठाउँमा पनि यथासम्भव जाँचको व्यवस्था गर्न उहाँले सरकारलाई समेत आग्रह गर्नुभयाृ । यसका साथै उहाँले उपचाररत कोभिड–१९ का अन्य विरामीलाई नआत्तिन समेत आग्रह गर्नुभयो ।
आफूलाई पनि शुरूमा कुनै संकेतहरू नदेखिएको सुनाउँदै भन्नुभयो, “म फ्रान्सबाट फर्केपछि घरमा सेल्फ आइसोलेसनमै थिएँ, चौंथो दिनमा मेरो भियतनामी क्लासमेट साथीले आफूमा पोजिटिभ देखियो भनेपछि म पनि त्यही दिन टेकु अस्पताल आएँ”, उनले भनिन्, “त्यसबेला ममा केही लक्षण थिएन। दुई दिनपछि रिपोर्ट आउँदा भने कोभिड(१९ पोजिटिभ देखियो।”
रिपोर्ट आउनसाथ अस्पतालले घरमा एम्बुलेन्स पठाइदिएको, डाक्टरले नै अस्पतालमा स्वागत गरेको र डाक्टरदेखि नर्स र सबै कर्मचारीले आफूलाई ठिक हुन्छ भनेर सधैँ हौसला दिएको उहाँले बताउनुभयो ।
अस्पतालमा भर्ना भएको दुई दिनपछि मात्र आफूमा लक्षण देखिन थालेको उल्लेख गर्दै “मेरो माइल्ड केस थियो, मेरो उमेरकोलाई यस्तै हुँदोरहेछ। तर, सास फेर्न अप्ठेरो, पेटमा दुखाइ, खोकी अनि पलंगबाट झर्न मन नलाग्नेगरी थकाइ एकदमै लाग्दोरहेछ।” भन्नुभयो ।
आफू सेल्फ आइसोलेसनमा बसेकाले परिवारमा संक्रमण फैलिन नपाएको उल्लेख गर्दै उहाँले धेरैले यस्तो सुविधा नपाउने हुँदा विदेशबाट आएकालाई यसरी बस्ने व्यवस्था मिलाइनुपर्ने समेत बताउनुभयो ।






प्रतिकृया