चितवन कोरोना भाइरस परीक्षण सुरु
प्रकाशित मिति
२०७६ चैत्र २२ गते, शनिबार ०८:५३

चितवन । शनिबार (आज )बाट चितवनमा पनि कोरोना भाइरसको परीक्षण सुरु गर्ने तयारी भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा.ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने बताएका छन् ।
भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी)अस्पताल सञ्चालनमा छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशंकामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । भरतपुरमै प्रयोगशाला सन्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।
स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार चितवन आएर बिहीबार दिनभर प्रयोगशाला स्थापनाका लागि उपयुक्त स्थानको अध्ययनमा खटिएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षण पश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला नै कोरोना भाइरसको परीक्षण गर्न उपयुक्त भएको निष्कर्ष निकालेको हो।
कोरोना भाइरसको परीक्षण काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका साथै धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि कोरोना भाइरसको परीक्षण हुँदै आएको छ ।



प्रतिकृया