‘चुच्चेढुङ्गाबाट’ मासिक २४ हजार आम्दानी
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०९:०२
काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन् ।
सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ । त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक रु ८०० भन्दा बढी रकम सङ्कलन हुने गरेको व्यावसायिक प्रजिता श्रेष्ठले जानकारी दिए ।
“दैनिक रु ८०० को हाराहारीमा रकम जम्मा हुन्छ”, उनले भने, “शनिबार र बिदाको दिन मान्छेको आगमन बढी नै हुन्छ ।” धुलिखेल–८ पिपलबोटबाट शुरु भएको हजार सिँढी चढेर माथि पुगेपछि आउने देवीस्थानडाँडा सबैको रोजाइको स्थल भए पनि पछिल्लो समयमा टिकट काटेर पैसा लिने तर व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् ।
यसअघि हजार सिँढी शुरु हुने ठाउँमा गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति र नगरपालिकाले संयुक्तरूपमा हजार सिँढी तथा देवीस्थान उद्यान प्रवेश शुल्कको नाममा टिकट काट्ने व्यवस्था गरिएको थियो । पछिल्लो समयमा नगरपालिकाले वार्षिक रु १८ लाखमा ठेक्कामा केएल विल्डर्सलाई जिम्मा दिएको छ । हजार सिँढी र देवीस्थान उद्यान प्रवेश शुल्क भनेर प्रतिव्यक्ति रु २०, विद्यार्थीलाई रु १०, विदेशी नागरिकलाई रु १०० र सार्क राष्ट्रका नागरिकलाई रु ५० लिने गरेको छ ।






प्रतिकृया