• 1:06 am

युरोपियन च्याम्पियन्स : युभेन्टस र रियल मड्रिड दुवै पराजित, रामोसलाई रातो कार्ड !

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०६:४९

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको उपाधिको प्रमुख दाबेदार मानिएका दुई क्लब अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।

बुधबार राति भएको खेलहरूमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस दुवै पराजित भएको हो । रियल मड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ गाले अन्तरले पराजित हुँदा युभेन्टस भने लियोनसँग १-० गोल अन्तरले स्तब्ध भयो ।

घरेलु मैदान सान्टीयागो रियल मड्रिडले शुरुवाति अग्रता लिए पनि जोगाउन नसक्दा म्यानचेस्टर सिटीसँग पराजित हुनपर्याे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल खायो भने एक गोल गर्याे ।
खेलको ६०औं मिनेटमा इस्कोको गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । तर खेलको ७८औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसको ५ मिनेटमै सिटीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लियो ।

रियलका डिफेन्डर ड्यानी कार्भाहालले सिटीका खेलाडी रहिम स्टर्लिङलाई बक्समा लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई केभिन डे ब्रुयाने प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल २-१ गोल अन्तरले सिटीले जित्यो ।

खेलको ८६औं मिनेटमा रियलका कप्तन रामोसले रातो कार्ड खाएर मैदान छाडेका थिए । सिटीका खेलाडी जेसस एक्लै बल लिएर अघि बढेका बेला रामोसले पछिबाट गएर समातेर लडाएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर पठाएका थिए ।

यता उपाधिको प्रमुख दाबेदार मानिएको युभेन्टसले पनि कम्जोर प्रदर्शन गरेको छ । लियोनको घरेलु मैदानम भएको खेलमा खेलभरि एक सट पनि टार्गेटमा हान्न सकेन । युभेन्टसका १४ सट सबै अफ् टार्गेट थिए । यस खेलमा युभेन्टसका फरवार्डहरू क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालाको कुनै पनि जादु चलेन ।

घरेलु टोली लियोनलाई जित दिलाउनको लागि ३१औं मिनेटमा लुकास टोउसर्टले गोल गरेको गोल नै निर्णयक गोल बन्यो । उनले एउआरले दिएको क्रस पासमा गोल गरेका थिए । त्यसपछि बाँकी समयभरि युभेन्टसले १ गोल पनि गर्न नसक्दा खेल लियोनले १-० ले जित्यो ।

लेगको दोस्रो खेल अर्को महिना युभेन्टसको घरेलु मैदानमा हुँदै छ । अन्तिम आठमा पुग्नको लागि युभेन्टसले लियोनमाथि कम्तिमा पनि २ गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ । लियोनले भने युभेन्टसलाई बराबरीमा रोके पनि अन्तिम आठमा पुग्छ ।

प्रतिकृया